काठमाडाैं – नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ। काठमाडौँ उपत्यकामा दैनिक औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको भन्दै निगमले केही दिनमै अवस्था सामान्य हुने जनाएको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार काठमाडौँ उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हुने गरेकोमा अहिले पाँचदेखि आठ हजार सिलिन्डर बढी आपूर्ति भइरहेको छ।
“काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिन्डर बढी आपूर्ति गरिरहेका छौँ,” उनले भने ।
निगमका अनुसार भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिन्डर बिक्री गर्दैछन्। त्यसअघि भदौ १ गते ५२ हजार ५७६ थान सिलिन्डर बिक्री भएको थियो। यो उपत्यकाको दैनिक औसत मागभन्दा करिब १५ हजार थान बढी हो।
साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म काठमाडौँ उपत्यकामा तीन लाख नौ हजार ५५३ थान सिलिन्डर बिक्री भएको निगमले जनाएको छ। यसअनुसार दैनिक औसत ४४ हजारभन्दा बढी सिलिन्डर बिक्री भइरहेको छ।
आधा भरिएका सिलिन्डरको प्रभाव
ग्यास उद्योगी व्यवसायीले अहिले देखिएको समस्या आपूर्ति अभावका कारण नभएको बताएका छन्। गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधान गर्न आधा भरिएको सिलिन्डर बिक्री गर्न अनुमति दिएको थियो। त्यसको प्रभाव अहिले देखिएको उनीहरूको भनाइ छ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री सुरु भएपछि आपूर्ति सहज भएको बताउनुभयो। उहाँका अनुसार अबको एक साताभित्र ग्यासको समस्या पूर्ण रूपमा समाधान हुने देखिएको छ।
साउनमा ४० लाखभन्दा बढी सिलिन्डर बिक्री
निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक करिब एक लाख १० हजार थान एलपी ग्यास सिलिन्डर बिक्री हुने गरेको छ। तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास अर्थात् ४० लाख ३६ हजार ३६४ थान सिलिन्डर बिक्री भएको छ।
यो अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा करिब २९ दशमलव ३ प्रतिशत बढी हो। अघिल्लो आवको साउनमा ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास अर्थात् ३१ लाख २० हजार ९८६ थान सिलिन्डर बिक्री भएको थियो।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ थान सिलिन्डर बिक्री भएको निगमले जनाएको छ।
चैतदेखि असारसम्म आयात घट्यो
निगमका अनुसार गत चैतमा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात भएको थियो। सो अवधिमा विभिन्न उद्योगबाट ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिन्डर बिक्री भएका थिए। अघिल्लो वर्षको चैतमा ४८ हजार ३२७ मेट्रिक टन ग्यास आयात हुँदा ३४ लाख तीन हजार ३१० थान पूरा भरिएका सिलिन्डर बिक्री भएका थिए।
गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन ग्यास आयात भएको थियो भने अघिल्लो वर्षको सोही महिनामा ४६ हजार ५०३ मेट्रिक टन आयात भएको थियो। यसैगरी जेठमा ३३ हजार ८४२ मेट्रिक टन ग्यास आयात भएकोमा अघिल्लो वर्षको जेठमा ४९ हजार ८१६ मेट्रिक टन आयात भएको थियो।
असारमा भने ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको थियो। अघिल्लो वर्षको असारमा ४७ हजार ९३३ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।
पछिल्लो समय आपूर्ति बढेसँगै बजारमा ग्यासको उपलब्धता सहज हुँदै गएको निगमको भनाइ छ। उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय नगरे बजारमा आपूर्ति व्यवस्था थप सहज हुने निगमले जनाएको छ।



