काठमाडौं – काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर परिसरलाई परम्परागत नेवारी वास्तुशैलीमा पुनर्निर्माण भइरहेको हो।
काठमाडौं महानगरपालिकाका अनुसार २०८१ असारदेखि सुरु भएको पुनर्निर्माणअन्तर्गत हाल मुख्य मन्दिरसँगै परिसरमा रहेका पाटी तथा सत्तलको निर्माण तथा जीर्णोद्धार भइरहेको छ।
पुनर्निर्माणको जिम्मेवारी तुल्सी–अम्बुजा जेभीले पाएको छ। कुल ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी, सत्तललगायत संरचनाको पुनर्निर्माण भइरहेको छ। निर्माण हुने सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट रहने महानगरपालिकाले जनाएको छ।
मौलिक शैलीमै पुनर्निर्माण
काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुनर्निर्माणमा परम्परागत नेवारी वास्तुशैलीलाई प्राथमिकता दिइएको छ।
मन्दिर परिसरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिनेछन् भने छानामा परम्परागत झिँगटी राखिनेछ।
उत्तरपट्टि भृकुटीमण्डप क्षेत्रमा दुईवटा ब्लकलाई आपसमा जोडिनेछ भने दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन्।
पुनर्निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी भने पुरातत्त्व विभागले लिएको छ।
सम्पदा संरक्षणसँग जोडिएको परियोजना
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माणलाई महानगरपालिकाको पूर्वाधार विकासको कामका रूपमा मात्र लिन नहुने बताइन् ।
उनका अनुसार यो काम काठमाडौंको सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्वपूर्ण परियोजना हो।
पुनर्निर्माणलाई व्यवस्थित तथा सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ।
समितिमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य छन्।
समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहनुभएको महानगरपालिकाले जनाएको छ।
परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका बुट्टा तथा मौलिक निर्माण शैलीलाई संरक्षण गर्दै भइरहेको पुनर्निर्माण सम्पन्न भएपछि भद्रकाली मन्दिर परिसरले मौलिक स्वरूप प्राप्त गर्ने र काठमाडौंको महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


