काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कसैलाई जानकारी नदिई सडकमार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्री शाह सवार गाडी शुक्रबार बिहान धादिङस्थित पृथ्वी राजमार्गको एक खण्डमा केहीबेर रोकिएको थियो। त्यसपछि उनीसहितको टोली पुनः पोखरातर्फ अघि बढेको धादिङका सुरक्षा स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको भ्रमणबारे स्थानीय सुरक्षा निकायलाई समेत पूर्वजानकारी नरहेको देखिएको छ। प्रधानमन्त्रीको यात्राको गन्तव्यबारे धादिङ प्रहरीले अनभिज्ञता जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतका अनुसार प्रधानमन्त्रीसहितको टोली पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा केहीबेर रोकिएको थियो। तर टोली कहाँ जाँदै थियो र त्यसपछि कुन दिशातर्फ अघि बढ्यो भन्नेबारे आफूहरूलाई थप जानकारी नभएको उनले बताए।
प्रधानमन्त्री शाहको पोखरा हुँदै मुस्ताङ पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। यद्यपि, भ्रमणको उद्देश्य र मुस्ताङमा हुने कार्यक्रमबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्रीले नियमित सुरक्षा तथा प्रशासनिक औपचारिकताभन्दा फरक ढंगले अचानक सडकमार्गबाट यात्रा थालेपछि उनको भ्रमण चासोको विषय बनेको छ।



