सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौं — सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ भने राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे सुरु हुनेछ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नुहुनेछ।

बैठकमा मन्त्री गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नुहुने कार्यसूची छ।

यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

राष्ट्रियसभामा विशेष सेवा ऐनसम्बन्धी विधेयक

राष्ट्रियसभाको बिहान १०ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

सङ्घीय संसद्का दुवै सदनमा आज विभिन्न कानुनी तथा विधेयकसम्बन्धी विषयमा छलफल हुने भएकाले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।