काठमाडौं – बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये अहिलेसम्म २८९ जनाको शव फेला परेको छ।
बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार रसुवामा तीन, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव फेला परेको हो।
बाढीले भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि विभिन्न स्थानमा बेपत्ता भएकाको खोजी तीव्र पारिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको छ। सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएका कतिपय क्षेत्रमा उद्धार टोली पुग्न कठिनाइ भइरहे पनि सुरक्षाकर्मीले उपलब्ध स्रोतसाधन प्रयोग गरी खोजी गरिरहेका छन्।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षाकर्मी, हेलिकप्टर तथा अन्य स्रोतसाधन परिचालन गरिएको छ। प्रभावितका आफन्तहरू भने विभिन्न उद्धार केन्द्र तथा सैन्य शिविरमा आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका छन्।
खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।



