संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड

दाङ, फागुन ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरु पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटनका लागि आज यहाँ आउनुभएका राष्ट्रपति भण्डारीले सो भवनको उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो ।

उहाँले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहनुभएको स्मरणसमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुण विद्यमान थिए ।”

दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यताको विकासमा यसको ठूलो योगदान रहेको स्थानका रुपमा पनि चिनारी रहेको बताउँदै उहाँले आफू धेरै पटक दाङ आएको स्मरण पनि गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ अझै थपेकोसमेत उहाँले बताउनुभयो । उहाँले संस्कृत भाषा, वाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुनु यहाँका नागरिकका लागि सौभाग्यको कुरा हो भन्नुभयो ।

राष्ट्रपति भण्डारीले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरु उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।