काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले विहिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो । निगमले यसअघि चैत ११ गते मात्रै मूल्य समायोजन गरेको थियो ।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ तोकिएको छ। यसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ ।
निगमले मूल्य निर्धारणका लागि मुलुकलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो परेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल डिपो समेटिएका छन ।
निगमका अनुसार अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गर्न बाध्य हुनुपरेको हो । इन्डियन आयल कर्पोरेसनबाट मार्च १६ र ३१ मा प्राप्त खरिद मूल्यका आधारमा गणना गर्दा पेट्रोलमा प्रतिलिटर ४७.१२ रुपैयाँ, डिजेलमा १३३.४५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहँदा सोही अनुपातमा आन्तरिक मूल्य समायोजन गर्न नसक्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको छ। घाटा बढ्दै जाँदा भारतीय आपूर्तिकर्तालाई समयमै भुक्तानी गर्न समेत कठिनाइ उत्पन्न हुने अवस्था देखिएको उनले बताए ।
पेट्रोलियम पदार्थमा सरकारको कर संरचना, अन्तरराष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावका कारण मूल्य समायोजन जटिल बन्दै गएको छ । मूल्य वृद्धि हुँदा यातायात, ढुवानी र दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि दबाब पर्ने सम्भावना रहन्छ ।
एक सातामै दोहोरिएको मूल्यवृद्धिले उपभोक्तामा असन्तुष्टि बढाउने संकेत देखिए पनि निगमले भने आपूर्ति प्रणाली निरन्तर राख्न मूल्य समायोजन अपरिहार्य भएको दाबी गरेको छ। आगामी दिनमा अन्तरराष्ट्रिय बजार स्थिर नभएसम्म पेट्रोलियम पदार्थको मूल्यमा थप उतारचढाव आउन सक्ने अनुमान गरिएको छ ।



