छथर गाउँपालिकाको ज्येष्ठ नागरिकलाई घरमै उपचार अभियान

तेह्रथुम, फागुन २५ गते । तेह्रथुमको छथर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर सम्मानसहित उपचार अभियान सुरु गरेको छ । ११० वर्षीय टेकबहाद्र बस्नेतलाई सम्मानसहित घरैमा स्वास्थ्य उपचार गर्दै अभियान सुरु गरिएको हो ।

स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच र निःशुल्क औषधि प्रदान गरेका छन् । ‘गाउँपालिका नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरो उपचार’ भन्ने नाराका साथ अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले जानकारी दिनुभयो ।

गाउँपालिकाको ६ वटै वडाहरूमा स्वास्थ्यकर्मीहरू सहित जनप्रतिनिधिहरूको टोलीले स्वास्थ्य उपचार र औषधि वितरण सुरु गरेको छ । पालिकामा रहेका ६० वर्षमाथिका दलित र ७० वर्ष माथिका अन्यलाई सेवा दिँदै आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।

स्वास्थ्य जागरण अभियानअन्तर्गत गाउँपालिकाले नागरिकहरूलाई घरदैलोसम्मान तथा उपचारका साथै गाउँपालिका साथी लोरौ उपचार कार्यक्रम सञ्चालन गरेको प्रवक्ता नेपालीले जानकारी दिनुभयो ।