गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नदीजन्य पदार्थ उत्खनन तथा बिक्री ठेक्कामा अनियमितता गरी राजस्व चुहावट गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा गढवा गाउँपालिकाले वडा नं. १ र २ का विभिन्न स्थानबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा संकलनका लागि सगुन कन्स्ट्रक्सन, बुटवलसँग ठेक्का सम्झौता गरेको थियो। तर ठेक्का कार्यान्वयनका क्रममा आवश्यक स्थलगत निरीक्षण, नापजाँच तथा प्राविधिक प्रतिवेदनबिना नै जथाभावी उत्खनन गर्न अनुमति दिइएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा गाउँपालिकाका पदाधिकारी र कर्मचारीको मिलेमतोमा ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा राजस्व छुट दिई सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याइएको आयोगले जनाएको छ। लुम्बिनी प्रदेश सरकार र स्थानीय तहको साझा अधिकार क्षेत्रभित्र पर्ने राजस्वसम्बन्धी विषयमा स्वेच्छाचारी निर्णय गर्दै दोस्रो किस्ताबापतको १ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको बैंक जमानत रकम मिनाहा गरिएको आरोप छ।

मुद्दामा गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक शहदेव खड्का तथा कम्पनीका प्रतिनिधि विकास पुनलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले पाँचै जनाबाट जनही १ करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा सजायको माग गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ अनुसार राजस्व चुहावटसम्बन्धी कसुरमा बिगोको दोब्बरसम्म जरिवाना र कैद सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

यसैगरी तत्कालीन अध्यक्ष अहिर र प्रमुख प्रशासकीय अधिकृत योगीमाथि सार्वजनिक पदको दुरुपयोग गरेको आरोपसमेत लगाइएको छ। आयोगले उनीहरूमाथि अतिरिक्त सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।