विराटनगर — सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लामो समयदेखि फरार रहेका थापालाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीको टोलीले पक्राउ गरेको हो ।
थापा विरुद्ध अङ्गभङ्ग मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएको लामो समय भइसकेको थियो । उनी कार्यवाहकको जिम्मेवारी वडा सदस्यलाई दिएर लुकेर बसेका थिए ।
थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले गत फागुन २२ गते साँझ प्र १–०२–०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भएकी थिइन् ।
खनालको विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचारपछि विभिन्न अस्पतालमा उपचार भइरहे पनि उनको अवस्था अझै सामान्य भइसकेको छैन । दुर्घटनापछि थापा भने सम्पर्कविहीन बनेका थिए । स्थानीयले आरोप लगाएका छन् कि थापाले पहुँचको दुरुपयोग गर्दै पीडितलाई उल्टै धम्की दिएका थिए ।
पीडित पक्षले प्रारम्भमा प्रहरीमा जाहेरी दिए पनि मुद्दा दर्ता हुन अस्वीकार गरिएको थियो । त्यसपछि उनीहरूले हुलाकमार्फत जाहेरी पठाए, तर त्यसलाई पनि दर्ता नगरेपछि उच्च अदालत विराटनगरमा अङ्गभङ्ग मुद्दा दायर गरिएको थियो ।
उच्च अदालतले गत भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि मात्रै प्रहरी सक्रिय भएको थियो । त्यसको परिणामस्वरूप साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले भने, “थापा पक्राउ परेपछि अब कानुन बमोजिमको प्रक्रिया अघि बढाइनेछ ।”



