सुदूरपश्चिमदेखि पूर्वी जिल्लासम्म जारी उपनिर्वाचनमा शान्तिपूर्ण मतदान हुँदै [तस्बिरहरू]

काठमाडौँ  — स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। हेटौँडा उपमहानगरपालिका–१२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ।मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन्। सो वडामा आठ हजार ५३ मतदाता रहेका वाग्मती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

Laxmi sunrise bank 2034

गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो। सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन्।

यसैगरी, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ। दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं.१ मा एक स्वतन्त्रसहित आठजना तथा वडा नं। ४ मा पनि एक महिलासहित ८ जना उमेदवार छन्।

जिल्ला निर्वाचन  कार्यालयका अनुसार  डाक्नेश्वरी नगरपालिका–१ मा दुई हजार ६३५ र वडा–४ मा एक हजार २८१ मतदाता छन्।

धनुषाधाम नगरपालिका १ मा पनि मतदान भइरहेको छ।

दैलेखको महावु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी छ।

दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुमपश्चिमको सानोभेरी नगरपालिका–५ मा वडाअध्यक्ष पदको मतदान भइरहेको छ। उपनिर्वाचनमा ४४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको  छन। सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन्।