कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास भरिँदै

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यका र आसपासका जिल्लामा ग्यासको आपूर्ति सहज बनाउन राजधानी बाहिरै एलपी ग्यास भर्न थालिएको छ।

ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै काठमाडौं आउन नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले वैकल्पिक व्यवस्थामार्फत बाहिरका उद्योगमा ग्यास भरेर काठमाडौं ल्याउने भएका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन्।

चन्दका अनुसार उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशतभन्दा बढी एलपी ग्यास आवश्यक पर्छ। त्यसैले सडक अवरोधका कारण हुन सक्ने सम्भावित अभाव रोक्न वैकल्पिक आपूर्ति व्यवस्था गरिएको हो।

संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक नखुलेसम्म राजधानी बाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइने जानकारी दिए। उनका अनुसार बाहिरका उद्योगमा भरेको ग्यास त्रिभुवन राजपथलगायत वैकल्पिक सडकबाट उपत्यका भित्र्याइनेछ।

ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र आसपासका जिल्लामा तत्काल अभाव नहुने कालाखेतीले बताए। उनले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास मौज्दात नराख्नसमेत आग्रह गरेका छन्।

उनका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगसँग समन्वय गरी ग्यास भर्न सुरु गरिसकेका छन्। यस्तै, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न थालेका छन्।

अन्य उद्योगले पनि राजधानी बाहिर रहेका उद्योग वा अन्य ग्यास उद्योगसँग समन्वय गरी वैकल्पिक रूपमा ग्यास भर्ने काम अघि बढाएका छन्। यस व्यवस्थाले कृष्णभीरमा सडक अवरुद्ध रहे पनि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एलपी ग्यासको नियमित आपूर्ति कायम राख्न सहयोग पुग्ने उद्योगीहरूको विश्वास छ।