काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार नजिक पुगेपछि करेन्ट लागेर गम्भीर घाइते भएकी जैसीलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
कोटधारामा महेन्द्र राजमार्गअन्तर्गत निर्माणाधीन पक्की पुलको उचाइका कारण प्रसारण लाइनको तार जोखिमपूर्ण अवस्थामा रहेको थियो । सोही स्थानमा बसोबास गर्ने टीकाराम जैसीकी छोरी रश्मी नुहाएर घर फर्कने क्रममा विद्युत्को तार छुन पुगेपछि गम्भीर घाइते भएकी थिइन् । दुर्घटनामा उनको शरीरमा गम्भीर क्षति पुगेको र पूर्ण अंगभंग भएको प्राधिकरणले जनाएको छ ।
घटनापछि रश्मीको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो भने प्राधिकरणले उपचारका लागि यसअघि तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो ।
नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ तथा सम्बन्धित विनियमावलीअनुसार सञ्चालक समितिले कुल १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत स्वीकृत गरेको हो । यसअघि उपचारका लागि दिइएको तीन लाख रुपैयाँ पेश्की कट्टा गरी बाँकी १० लाख ८१ हजार ३७२ रुपैयाँ रश्मीलाई उपलब्ध गराइनेछ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार घाइतेको पूर्ण अंगभंग भएको पुष्टि, उपचारसम्बन्धी कागजात तथा सम्बन्धित निकायका सिफारिसका आधारमा क्षतिपूर्ति रकम स्वीकृत गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार गठित समितिको निर्णय, इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस तथा प्राधिकरणको मेडिकल बोर्डको २०८३/०४/२१ को निर्णयका आधारमा उपचार बिल, प्रेस्क्रिप्सन र पूर्ण अंगभंग भएको पुष्टि गर्ने कागजातसमेतका आधारमा रकम स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ ।
करेन्ट लागेर घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति
यसैगरी नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगरलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
मगर २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन बदली गर्ने क्रममा करेन्ट लागेर विद्युत् दुर्घटनामा परी घाइते भएका थिए । उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइते कर्मचारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।
मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले जानकारी दिए ।



