स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका–१३ तारुखोलामा किसानले धान र मकै खेती गर्दै आएको जमिनमा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन् । तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ ।
वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताए । खाद्यान्न बालीको तुलनामा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले समेत क्षति नगर्ने भएकाले खेती विस्तार गरिएको उनकाे भनाइ छ ।
“गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ”, सञ्चालक पाठकले भने, “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, तर मागअनुसार बजारमा पुर्याउन सकेका छैनौँ ।”
फार्मबाट हाल दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ । यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलस्थित तरकारी मण्डी तथा स्थानीय बजारमा सहजै खपत हुने गरेको पाठकले बताए ।
खुर्सानी प्रतिकिलो रु २२० का दरले बिक्री भइरहेको छ । हालसम्म फार्मबाट करिब रु सात लाख बराबरको खुर्सानी बिक्री भइसकेको छ ।
“यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ । बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ”, पाठकले भने ।
पहिलो पटक व्यावसायिक रूपमा खुर्सानी खेती सुरु गरिएकाले आगामी दिनमा खेतीको क्षेत्रफल अझ विस्तार गर्ने तयारी गरिएको छ । कृषि विकास परियोजना (हेफर) अन्तर्गत फार्मलाई कृषि प्राविधिक सहयोगसँगै मल्चिङ प्लास्टिक, मल तथा खुर्सानी सुकाउने मेसिन उपलब्ध गराइएको छ ।
खुर्सानी पाक्ने र टिप्ने क्रम अहिले पनि जारी छ । कामदार लगाएर नियमित रूपमा खुर्सानी टिप्ने गरिएको सञ्चालक पाठकले बताए ।
“खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ । कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ”, उनले भने, “गर्न सकेको खण्डमा आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ ।”
केदारनाथ कृषि फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ । फार्ममा उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु आफ्नै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गरिदिने गरिएको छ । यसले व्यापारी तथा उपभोक्तालाई कृषि उपज खरिदमा सहज भएको फार्मले जनाएको छ ।



