सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा, – जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले अत्यधिक मूल्य असुल्न थालेको भन्दै उपभोक्ताको गुनासो बढेको छ। बजारमा ग्यास सहज रूपमा नपाइने र पाइए पनि निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको उपभोक्ताले बताएका छन्।

लहानस्थित महाराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन्। “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो,” उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको तीन हजार ८२० रुपैयाँ पर्नुपर्ने हो। तर नौ हजार रुपैयाँ मागेपछि कसरी तिर्नु ? त्यसपछि रित्तै हात फर्किनुपर्‍यो।”

सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो। “सिलिन्डर किन्दा चार हजार ५०० रुपैयाँ तिर्नुपर्छ,” उहाँले भन्नुभयो, “त्यति महँगोमा किनेर कसरी खर्च धान्नु ? अब त खाना पकाउनै समस्या हुने हो कि भन्ने चिन्ता बढेको छ।”

हाल खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ तोकिएको छ। तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ।

उपभोक्ता अधिकारकर्मीले बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल अनुगमन गर्न आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार बजार अनुगमनलाई तीव्र बनाइनेछ। “हामी वाणिज्य कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन गर्नेछौँ,” उहाँले भन्नुभयो, “कालोबजारी गरेको पाइए कानुनबमोजिम कारबाही हुन्छ।”

यता नेपाल आयल निगमका स्थानीय वितरकहरूले भने ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या हुनुका साथै निर्वाचनका कारण केही दिन सिमाना बन्द हुनु र उपभोक्ताले ग्यास भण्डारण गरेर राख्नुजस्ता कारणले बजारमा अस्थायी अभाव देखिएको बताएका छन्।