धरानमा बिर्को लगाएर राखिएको डिप ट्युबवेल सञ्चालनमा ल्याउनल आग्रह

सुनसरी – धरानका नागरिक समाजका अगुवाहरूले प्रदेश सरकारको आर्थिक सहयोगमा चारकोशे जंगलमा खनिएको डिप ट्युबवेलबाट उत्पादित भूमिगत खानेपानी वितरण गर्न माग गरेका छन् ।

मेयर पदमा रहँदै धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्कराज राई साम्पाङले राजीनामा दिएर चुनावी मैदानमा उत्रिएपछि कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा लिम्बुसँग नागरिक अगुवाहरूले बिर्को लगाएर राखिएको डिप ट्युबवेल सञ्चालनमा ल्याई खानेपानी समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

धरानको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले प्रदेश सरकारले डेढ वर्षअघि उपलब्ध गराएको बजेटमार्फत चारकोशे जंगलमा डिप ट्युबवेल खनिएको थियो । सामाजिक अभियन्ता महेश श्रेष्ठसहितका नागरिक अगुवाहरूले कार्यवाहक मेयर तथा बोर्ड अध्यक्ष बेघालाई भेटेर दैनिक करिब ५० लाख लिटर पानी उत्पादन हुने क्षमता हुँदाहुँदै पनि अघिल्लो नेतृत्वले वितरण नगरी अस्थायी खोलाखोल्सीमै निर्भर बनाएको गुनासो गरेका थिए ।

नागरिक अगुवाहरूको माग सुनेपछि बोर्ड अध्यक्ष बेघाले धरानवासी निरन्तर खानेपानी अभावको मारमा परिरहेको उल्लेख गर्दै तयारी अवस्थामा रहेको ५० लाख लिटर उत्पादन क्षमताको स्रोतलाई तत्काल सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

निवर्तमान बोर्ड अध्यक्ष साम्पाङले भने डिप ट्युबवेलमार्फत भूमिगत पानी उत्पादन गर्दा मासिक ५० लाख रुपैयाँभन्दा बढी विद्युत महसुल लाग्ने भएकाले सतही स्रोतलाई प्राथमिकता दिँदै महसुल जोगाइएको बताउँदै आएका थिए ।

यसैबीच, साम्पाङको कार्यकालमा खानेपानी बोर्डका कर्मचारीहरूलाई श्रम संस्कृति पार्कको टिकट काउन्टरमा खटाइएको भन्दै बेघाले अन्यत्र पठाइएका कर्मचारीलाई तुरुन्त बोर्डमै फिर्ता ल्याउन कार्यकारी निर्देशक राजु पोखरेललाई निर्देशन दिएका छन् ।

‘खानेपानी बोर्डभित्रका कर्मचारीहरू कहीँकतै पठाइएको भए आजैदेखि कागजी प्रक्रिया सुरु गरेर बोर्डमै फिर्ता ल्याउनुस्,’ बेघाले भने, ‘यहाँ ल्याएर आवश्यक जिम्मेवारी तोक्नुस्, निर्देशन दिइसकेको छु।’

उपमेयरबाट कार्यवाहक मेयर बनेका बेघाले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शी बनाउने प्रतिबद्धता पनि जनाएका छन् । उनले बोर्डका गतिविधि र हिसाबकिताब अब गोप्य नरहने स्पष्ट पार्दै भने, ‘पारदर्शिता भाषणमा होइन, व्यवहारमै देखिनुपर्छ।’

मेयरले राजीनामा दिएपछि उपमेयर स्वतः बोर्ड अध्यक्ष हुने प्रावधानअनुसार बेघा अध्यक्ष बनेका हुन् । पदभार ग्रहण गर्दै उनले बोर्डका कामकारबाही र गतिविधि तथ्यसहित सार्वजनिक गरिने बताए ।

पुसको दोस्रो सातादेखि धरानमा दिन बिराएर पालो प्रणालीमार्फत उपभोक्ताका धारामा पानी वितरण हुँदै आएको छ । बेघाले सुख्खायाममा खानेपानी अभाव दोहोरिने भएकाले सर्दु जलाधार (सतही) र चारकोशे जंगल (भूमिगत) दुवै स्रोतबाट प्राप्त पानीलाई व्यवस्थित र न्यायोचित रूपमा वितरण गरिने पनि बताए ।