रसुवा – बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।
फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सडकखण्डमा आवतजावत पूर्णरूपमा प्रभावित भएको थियो। तत्कालको आवागमन समस्या समाधान गर्न सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा वैकल्पिक संरचना निर्माण गरिएको हो।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार पहिलो चरणमा पैदल यात्रुको आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरेर फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ।
स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भइसके पनि त्यसको दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको छ। पदमार्ग व्यवस्थापनको काम एक–दुई दिनभित्र सम्पन्न गरी तुइन पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ।
बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म पैदल आवागमन सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिए ।
समाजसेवी गणेश श्रेष्ठका अनुसार फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाले सहयोग गरेका थिए। त्यसैगरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए ।
अस्थायी फड्के र तुइन निर्माण भएपछि बाढीका कारण सडक सम्पर्कबाट प्रभावित बनेका स्थानीयवासीलाई तत्काल राहत पुगेको छ। विशेषगरी उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको जनाइएको छ।
त्यस्तै, बेत्रावतीको फड्के बनेपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत क्षेत्रका बासिन्दालाई समेत आवागमनमा राहत पुगेको छ।
यद्यपि, स्थानीयवासीले फड्के र तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन रूपमा भने सुरक्षित र भरपर्दो संरचना आवश्यक रहेको बताएका छन्। उनीहरूले बाढीले क्षतिग्रस्त पुल तथा सडक संरचनाको पुनर्निर्माणलाई तीव्रता दिँदै तत्काल बेलिब्रिज निर्माण गर्न माग गरेका छन्।
बाढीपछि मुख्य सडक तथा पुल संरचना क्षतिग्रस्त हुँदा उत्तरी रसुवा र नुवाकोटका विभिन्न बस्तीबीचको आवागमन प्रभावित बनेको अवस्थामा अस्थायी संरचनाले केही राहत दिए पनि स्थायी विकल्पका रूपमा बेलिब्रिज निर्माणलाई प्राथमिकता दिनुपर्ने स्थानीयवासीको माग छ।



