म्याग्दी – चार दिनदेखि रुद्रबहादुर थापाको दैनिकी खेतबारीमा होइन, घरभित्रै बितिरहेको छ । बाढीले हिलाम्मे बनाएको घरबाट जोगिएका लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न निकाल्ने, सफा गर्ने र घाममा सुकाउने काममै उहाँको समय बितेको छ । खेतमा तरकारी खेती गरेर जीविका चलाउँदै आएका थापालाई अहिले आफ्नै घर कहिले बस्न मिल्ने हुन्छ भन्ने चिन्ता छ ।
बेनी नगरपालिका–१ आनन्दबगरमा असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढी बस्तीभित्र पसेपछि आठ घर प्रभावित भएका छन् । बाढीले कतिपय सामान बगाएको छ भने घरभित्र रहेका अधिकांश सामान हिलो र पानीले बिगारेको छ । चार दिन बितिसक्दा पनि प्रभावित घरमा सरसफाइ र सामान व्यवस्थापनको काम पूरा हुन सकेको छैन ।
रुद्रबहादुरका तीन भाइका घर एकै ठाउँमा छन् । बाढीले तीनवटै घरको आधा तलासम्म डुबायो । घरभित्र पसेको पानी र हिलोले सामानमा क्षति पुर्याएपछि जोगाउन सकिने वस्तु छुट्याएर सफा गर्ने काम भइरहेको छ ।
“केही सामान बगायो । बचेका सामान खोजेर सरसफाइ र संरक्षण गर्ने काम चार दिनसम्म पनि सकिएको छैन,” रुद्रबहादुरले भने, “अब कहाँ बस्ने भन्ने टुङ्गो छैन ।”
कालीगण्डकीमा फेरि पानीको सतह बढ्ने डरले प्रभावित परिवार राति आफ्ना घरमा बस्न सकेका छैनन् । दिनभर बाढी पसेको घर सफा गर्ने र सामान मिलाउने तथा साँझ परेपछि आफन्तको घरमा गएर रात बिताउने अवस्था बनेको छ ।
आनन्दबगरका भोजबहादुर जिसी, पम्मी जिसी, सविना जिसी, मानबहादुर खत्रीलगायतका परिवारको अवस्था पनि उस्तै छ । नदी किनारबाट करिब २० मिटरको दूरीमा रहेको बस्तीमा यसअघि यति ठूलो बाढी पसेको आफूले थाहा नपाएको ६० वर्षीया कमला जिसी बताउछन् ।
“कालीगण्डकीमा मैले थाहा पाएदेखिकै ठूलो बाढी आयो,” उनले भने, “सामान त धोइपखाली गरौँला, तर बस्ती नै छाडेर जानुपर्ने अवस्था आउला भन्ने चिन्ताले सताएको छ ।”
जीवनभरको मेहनतबाट बनाएको घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएपछि कमलाको परिवारलाई घरको चिन्तामात्र छैन, गासको समस्या पनि थपिएको छ । बाढीले घरमा राखेको खाद्यान्नसमेत बगाएपछि प्रभावित परिवारको दैनिक जीवन थप कठिन बनेको छ ।
रात पर्दा बढ्छ बाढीको त्रास
८० वर्षीय कालुमान थापाका लागि यसपटकको बाढी जीवनभर देखेका ठूला बाढीमध्ये एक बनेको छ । कालीगण्डकीको बहाव तटबन्ध र सडक पार गर्दै घरभित्र पसेपछि उहाँले परिवारसहित भागेर ज्यान जोगाए ।
राति करिब १२ बजेतिर बेनीमा रहेका आफन्तले फोन गरेर बाढी आएको खबर गरेपछि घर छाडेर सुरक्षित स्थानतर्फ लाग्नुपरेको उनले बताए।
बाढीको पानी घटे पनि आनन्दबगरवासीको त्रास घटेको छैन । कालीगण्डकीको बहाव बढेको देख्नेबित्तिकै स्थानीयवासी झस्किन्छन् । दिनभर घर सफा गरे पनि राति त्यही घरमा सुरक्षित भएर सुत्न सकिने अवस्था नरहेको उनीहरूको गुनासो छ ।
तरकारी खेतीले धानेको बस्तीमा फेरि शून्यबाट सुरु गर्ने बाध्यता
मालढुङ्गा–बेनी सडक निर्माण हुनुअघि बागलुङ र पर्वततर्फबाट म्याग्दी आवतजावत गर्नेहरूले आनन्दबगरको पदमार्ग प्रयोग गर्थे । सडक विस्तारसँगै पदमार्गको पुरानो भूमिका घटेपछि यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेतीलाई आम्दानीको आधार बनाएका थिए ।
सानो क्षेत्रफलमा तरकारी उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्ने किसानहरू क्रमशः स्वरोजगार र आत्मनिर्भर बन्दै गएका थिए । रुद्रबहादुर पनि यही खेतीमा निर्भर थिए। तर यसपटक कालीगण्डकीको बाढीले घरसँगै घरवरपरका करेसाबारी र तरकारी बालीमा समेत क्षति पुर्याएको छ ।
बाढीले आनन्दबगरको खेलमैदान पुरिएको छ । बेनीबाट बस्ती जोड्ने सडक पहिरोका कारण क्षतिग्रस्त भएको छ । खानेपानीका संरचनामा क्षति पुगेपछि स्थानीयवासीलाई दैनिक उपभोगका लागि पानीको समस्या थपिएको छ ।
बस्तीको माथिल्लो भाग भने दुई वर्षअघि कालीगण्डकी किनारमा निर्माण गरिएको पक्की पर्खालका कारण तुलनात्मक रूपमा सुरक्षित रहेको स्थानीयवासी लालबहादुर थापा बताउछन् । त्यसैले स्थानीयवासीले अब तत्कालीन राहतसँगै नदी नियन्त्रण र बस्ती संरक्षणका लागि दीर्घकालीन संरचना निर्माणको माग गरेका छन् ।
“आनन्दबगरलाई तटबन्ध गरेर सुरक्षित र बस्नयोग्य बस्ती बनाउनुपर्छ,” स्थानीयवासी सविना जिसीले भने, “अहिले घरमा बस्न सकिने अवस्था छैन । बाढीको त्रास पनि उस्तै छ ।”
राहत पाए पनि सुरक्षित बासको प्रश्न कायमै
बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार पछिल्लो वर्षापछिको बाढीबाट वडाभित्र सबैभन्दा बढी क्षति आनन्दबगरमा भएको छ । सिममा एउटा र अर्जममा दुईवटा घरमा समेत क्षति पुगेको उनले जानकारी दिए ।
बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराइएको छ । खानेपानी आपूर्ति सहज बनाउन नगरपालिकामार्फत पहल भइरहेको वडाध्यक्ष थापाले बताए ।
तर प्रभावित परिवारलाई तत्कालको राहतभन्दा ठूलो प्रश्न बस्तीको भविष्य बनेको छ । नदी किनारमा रहेका घरलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन तटबन्ध तथा अन्य संरक्षण संरचना निर्माणका लागि सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उनकाे भनाइ छ ।
“आनन्दबगरमा अल्पकालीन राहतको व्यवस्था मिलाएका छौँ । खानेपानीको समस्या समाधान गर्न पहल गर्छौं,” उनले भने, “दीर्घकालीन रूपमा बस्तीलाई सुरक्षित बनाउन तटबन्धलगायत संरचना निर्माणका लागि सङ्घीय सरकारको सहयोग आवश्यक छ ।”
कालीगण्डकी किनारको आनन्दबगरले पछिल्ला वर्षमा व्यावसायिक तरकारी खेतीमार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै आएको थियो । तर असोज ११ को बाढीले यहाँका परिवारको घर र खेतबारीमा मात्र क्षति पुर्याएन, सुरक्षित रूपमा यहीँ बसिरहने विश्वासमाथि पनि प्रश्न खडा गरिदिएको छ ।
अहिले आनन्दबगरका घरआँगनमा थुप्रिएको हिलो, खेतमा पुरिएका तरकारीका बोट र घरभित्रबाट निकालेर सुकाइएका सामानले बाढीपछिको अवस्था देखाइरहेका छन् । प्रभावित परिवारका लागि तत्कालको प्राथमिकता जोगिएका सामान बचाउनु र रात बिताउने सुरक्षित ठाउँ खोज्नु बनेको छ ।
तर नदी नियन्त्रण र बस्ती संरक्षणका दीर्घकालीन संरचना नबने कालीगण्डकी किनारमा पुस्तौँदेखि बस्दै आएका परिवारलाई भोलिका दिनमा आफ्नो थातथलो छाड्ने अवस्था आउन सक्ने चिन्ता पनि बढेको छ ।



