रसुवाको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेकाछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग उपलब्ध स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त सहयोगसमेत परिचालन गर्ने तयारी गरिरहेको बताए ।

उनले विपद्पछि प्रभावित क्षेत्रमा सडक सञ्जाललगायतका पूर्वाधार यथाशीघ्र पुनःस्थापना गर्न सरकार निरन्तर काम गरिरहेको बताउँदै सडक सञ्चालनमा आएपछि प्रभावित नागरिकलाई पूर्ववत् अवस्थामा फर्किन सहज हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री शाहले प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलले विपद्बाट प्रभावित जनताको मनोबल उच्च राख्नसमेत सहयोग पुग्ने बताए । उनले विपद्का बेला सङ्घ, प्रदेश र स्थानीय तहबीच तत्कालै समन्वय र सहकार्य भएको विषयमा खुसी व्यक्त गरे ।

“यसअघि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्‍यौँ,” प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री शाहले भोटेकोशी नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरू सुरुदेखि नै जोखिममा रहेको विषय सरकारले उठाउँदै आएको स्मरण गरे। उनले बाढीबाट प्रभावित तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने स्पष्ट पार्दै सुरक्षित स्थानमा व्यवस्थित रूपमा नयाँ बस्ती विकास गर्ने तयारी सरकारले अघि बढाएको जानकारी दिए ।

उनका अनुसार प्रभावित नागरिकलाई पुरानै सामाजिक तथा आर्थिक जीवनमा फर्काउन सक्ने गरी बस्ती स्थानान्तरण गर्नुपर्नेछ। नयाँ बस्ती बसाउँदा रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिसहित स्थानीय नागरिकको जीवनयापनसँग जोडिएका पक्षलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

“बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,” प्रधानमन्त्री शाहले भने ।

नयाँ बस्तीका लागि उपयुक्त जग्गा पहिचान गरी सङ्घीय सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। प्रभावित क्षेत्रबाट धेरै टाढा नभई सुरक्षित स्थानमा बस्ती विकास गर्नुपर्ने उनकाे भनाइ छ।

प्रधानमन्त्री शाहले पुनःस्थापना केवल भौतिक संरचना निर्माणमा सीमित नराखी प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक–सांस्कृतिक जीवनलाई समेत पूर्ववत् बनाउने गरी अघि बढाउनुपर्नेमा जोड दिए ।

आजको छलफलबाट बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था, स्थानीय आवश्यकता र पुनःस्थापनाका चुनौतीबारे प्रत्यक्ष रूपमा जानकारी लिन सहयोग पुगेको प्रधानमन्त्री शाहले बताउनुभयो। उहाँले प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि सरकार आवश्यक स्रोत, साधन र समन्वय जुटाएर अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।