मुस्ताङमा आजदेखि जलवायु सम्मेलन’, ४२१ स्थानीय तह सहभागी

मुस्ताङ – जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरबारे राष्ट्रिय बहस गर्ने उद्देश्यले मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा सहभागी हुन सातै प्रदेशका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि सोमबार साँझसम्म मुस्ताङ आइपुगेका छन् । घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सम्मेलनमा सहभागी हुन महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिसहित ठूलो सङ्ख्यामा अतिथि मुस्ताङ पुगेका हुन् ।

आगन्तुक अतिथिका लागि स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ । सम्मेलनलाई व्यवस्थित बनाउन घरपझोङ गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा अन्य सङ्घसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिए ।

सम्मेलनमा सहभागी अतिथिका लागि बिहानको खाजा, खाना र दिउँसोको खाजाको व्यवस्थापन सम्मेलनस्थलमै आमा समूहका टोलीले गर्नेछन् । बेलुकीको खाना तथा बसोबास भने गाउँपालिकाले तोकेका स्थानीय होटलमा व्यवस्था गरिएको उपाध्यक्ष थकालीले बताए ।

सम्मेलनलाई भव्य र आकर्षक बनाउन घरपझोङ गाउँपालिकाका पाँचवटै वडाका सडक तथा बस्तीलाई स्थानीय मौलिक कला र संस्कृतिको झल्को दिने ध्वजापतङ्गाले सजाइएको छ । गाउँपालिकाका मुख्य राजमार्ग तथा भित्री सडकमा सडकबत्ती जडान गरी रातको समयमा झिलिमिली पारिएको छ ।

आगन्तुक अतिथिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ । खानेपानी, इन्टरनेट तथा विद्युत् सेवामा समस्या नआओस् भनेर आवश्यक पूर्वतयारी गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, सम्मेलन अवधिभर सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउने व्यवस्था मिलाइएको छ ।

जोमसोमस्थित कभर्डहलमा हुने सम्मेलनका लागि स्टेज, ध्वनि प्रणाली, ब्यानर तथा आवश्यक सजावटको काम पूरा गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए ।

सम्मेलनस्थलभित्र जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने उद्देश्यले २८ फिट उचाइको ‘पृथ्वी रोइरहेको’ झल्काउने गोलाकार बेलुनको आकृति राखिएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीमा बढ्दै गएको संकटलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न उक्त आकृति तयार गरिएको हो ।

मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले सम्मेलनस्थलमा ५० भन्दा बढी प्रदर्शनी कक्षसमेत राखिएको छ । गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार ती प्रदर्शनी कक्षमा मुस्ताङमा उत्पादित विभिन्न कृषि उपज तथा स्थानीय उत्पादन प्रदर्शन गरिनेछ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, स्थानीय तहको भूमिका तथा अनुकूलनका उपायबारे छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनको अन्त्यमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

मुस्ताङमा पहिलोपटक यति ठूलो सङ्ख्यामा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई एकै ठाउँमा भेला पारेर आयोजना गर्न लागिएको सम्मेलनलाई जलवायु परिवर्तनका विषयमा स्थानीय तहको साझा आवाज निर्माण गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।