सूचना आयो, विपत्ति बुझिएन

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए । त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले ठूलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उनलाई लागेको थिएन । त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि त्यसले निम्त्याउन सक्ने विपत्तिको आकार उनले अनुमान गर्न सकेनन् ।

घरबाट निस्कने तयारी गरिरहेका बेला प्रहरीले माइकिङ गर्दै सुरक्षित स्थानमा जान आग्रह गरिरहेको थियो । रसुवाको टिमुरेमा भोटेकोशीको बाढीले ठूलो क्षति पुर्‍याएको र तीव्र गतिमा ठूलो बाढी तलतिर आउँदै गरेको भन्दै प्रहरीले ढुङ्गे चोकभन्दा माथिल्लो क्षेत्रमा जान आग्रह गर्‍यो ।

माइकिङ गर्ने प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई चिनेका प्याकुरेल प्रहरी नजिक पुगेर सोधे, “बाढी धेरै ठूलो हो ?”

जवाफ आयो, “हो, धेरै ठूलो छ ।”

तर, ‘धेरै ठूलो’ भन्ने चेतावनीले पनि आउन लागेको बाढीको वास्तविक भयावहता उनको मनमा चित्रित गर्न सकेन । नातिनी विद्यालय जाने बेला भएकाले परिवारका सबै सदस्यसँगै निस्कनुपर्ला भन्ने उनलाई लाग्यो । परिवारका सदस्यसँगै घरबाट निस्कने तयारी गर्दै गर्दा केही समयमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो ।

केही मिनेटमै बाढीले घरलाई चारैतिरबाट घेर्‍यो । ढुङ्गेबजार र आसपासका बस्ती भेलमा परिणत भए । घरभित्रै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरे ।

ज्यान जोगिए पनि त्यो दिनको त्रासदीको छाप भने मेटिएको छैन । अहिले प्याकुरेलको घर बाढीको विनाशबीच बचेको ‘हरियो घर’का रूपमा चिनिन्छ ।

“सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेन । बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन”, प्याकुरेलले भने।

बाढी हेर्न जाँदा आफैँ भेलमा

विदुर नगरपालिका–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्‍याएको केही समयमै साथीमार्फत ठूलो बाढी आउँदै गरेको सूचना पाउनुभएको थियो । त्यसपछि वेत्रावती प्रहरी चौकीबाट समेत माइकिङ भयो– ‘बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस् । धेरै ठूलो बाढी आउँदैछ ।’

चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाउनुभएका डङ्गोल सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । उनले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गरे ।

तर, अरूलाई सुरक्षित हुन आग्रह गरिरहनुभएका डङ्गोल स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे । नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उनलाई घेर्‍यो ।

“बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासी चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेन्डले ज्यान बच्यो”, उनले भने ।

बाढीमा परेर उहाँको खुट्टाको मांसपेशी च्यातिएको छ । तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई बढी पीडा दिएको छ ।

“आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो । त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिनँ”, भावुक हुँदै उनले भने, “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठूलो भन्ने थाहा भएन ।”

अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाए

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ । गोरखा भूकम्पपछि विस्थापित भएर पछिल्लो १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदीकिनारको खाल्डेमा बस्दै आउनुभएका तामाङले भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि अरूलाई जोगाउन दौडिए ।

उनी खाल्डे र नजिकैको सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारसम्म बाढीको सूचना पुर्‍याउन दौडिए । तर, सूचना फैलाउन थालेको करिब १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो ।

तामाङले भेलबाट भागेर ज्यान त बचाए , तर बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाए । उक्त बस्तीका १०० भन्दा बढी मानिस अझै हराइरहेका छन् ।

“ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो । तर, कत्रो ठूलो बाढी हो भन्ने अनुमान भएन । पोहोर (विसं २०८२ असार २४ गते)को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो । सास फेर्न नपाउँदैमा छोपिहाल्यो”, तामाङले भने ।

सूचना पुग्यो, जोखिमको आकार बुझिएन

भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्र गतिमा फैलिएको थियो । टिमुरेमा बाढीले पुर्‍याएको क्षतिको खबर त्रिशूली नदीकिनारका बासिन्दासम्म पुगेको थियो । तर, त्यसले पुर्‍याउन सक्ने क्षतिको आकार भने धेरैका लागि कल्पनाभन्दा बाहिर रह्यो ।

विदुर नगरपालिका–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार उहाँका हजुरबुबाले विसं २०१८ सालतिर त्रिशूलीमा आएको ठूलो बाढीको कथा सुनाउने गर्थे। त्यतिबेला मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको उनको स्मरण थियो ।

तर, यसपटकको बाढीले त्रिशूली नदीबाट करिब ३०० मिटर टाढा र झन्डै १०० मिटर उचाइमा रहेको उहाँको चार रोपनी धानखेतसमेत बगर बनाइदियो ।

“हजुरबुबाले २०१८ सालमा ठूलो बाढी आएको सुनाउनुहुन्थ्यो । अहिले त त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेत बगर बनायो”, श्रेष्ठले भने ।

टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायत नदी आसपासका बस्तीमा बाढीको प्रभाव एकपछि अर्को गर्दै देखियो । सूचना पाएका मानिसले समेत बाढीको वास्तविक गति र आकार अनुमान गर्न नसक्दा सुरक्षित स्थानमा पुग्न पर्याप्त समय पाएनन् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार विपद्का बेला सूचना प्रवाह हुनु मात्रै पर्याप्त हुँदैन, त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा पुग्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

“सफा मौसम, घाम लागिरहेको वातावरणमा ठूलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्”, प्रजिअ रेग्मीले भने, “मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्नेमात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।”

भोटेकोशी बाढीले विपद्को पूर्वसूचना प्रणालीमा अर्को महत्त्वपूर्ण पक्ष उजागर गरेको छ– सूचना पुग्नु र सूचना बुझ्नु एउटै कुरा होइन । विपद्को चेतावनी समयमै पाए पनि जोखिमको वास्तविक आकार नबुझ्दा सुरक्षित स्थानमा पुग्न सकिने केही मिनेटसमेत गुम्न सक्छ ।

भदौ १० को बाढीले त्यसको मूल्य निकै महँगो बनायो । अब पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनेसँगै बाढी, पहिरो वा अन्य विपद्को चेतावनी पाउनेबित्तिकै त्यसलाई गम्भीर रूपमा लिएर सुरक्षित स्थानतर्फ जाने व्यवहार विकास गर्नु उत्तिकै आवश्यक देखिएको छ ।