पाँच वर्षमा १३ प्रतिशत मात्रै काम, गिलुङको १५ शय्याको अस्पताल अलपत्र

लमजुङ – क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको काम सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत मात्रै पूरा भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७८ साउन १९ गते सम्झौता भएको अस्पतालको निर्माण काम विसं २०८१ असारदेखि रोकिएको छ ।

निर्माण व्यवसायीले काम अघि बढाउने भन्दै पटकपटक म्याद थप्दै आए पनि अस्पताल निर्माणले गति लिन सकेको छैन । पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले निर्माण व्यवसायीलाई काम अघि बढाउन पटकपटक ध्यानाकर्षण गराए पनि अपेक्षित प्रगति हुन नसकेको बताए । उनका अनुसार हालसम्म करिब रु एक करोड ८३ लाख बराबरको मात्रै काम भएको छ ।

गाउँपालिकाका सबइन्जिनियर प्रकाश शेरचनका अनुसार अस्पताल भवनको भुइँतला ढलानको काम सम्पन्न भएपछि निर्माण रोकिएको हो । सम्झौताको दुई वर्षको अवधिमा समेत निर्माणले गति लिन नसकेको र त्यस अवधिमा करिब पाँचदेखि छ प्रतिशत मात्रै काम भएको उनले बताए ।

सुरुमा जग खन्ने, जमिन सम्याउनेलगायतका काम गरिएको थियो । त्यसपछि निर्माणको गति सुस्त हुँदै गएको र पटकपटक म्याद थप्दा पनि काम अघि नबढेपछि निर्माण व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको सबइन्जिनियर शेरचनले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले निर्माण व्यवसायीको ढिलाइका कारण अस्पताल निर्माणले अपेक्षित गति लिन नसकेको बताए । पछिल्लो पटक तीन महिनाका लागि म्याद थपिएकाले उक्त अवधिमा काम अघि बढ्ने अपेक्षा गरिएको उनकाे भनाइ छ ।

“अब थपिएको समयमा पनि निर्माण प्रक्रिया अगाडि बढेन भने ठेक्का तोड्ने वा कानुनी कारबाही के गर्ने भन्नेबारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ”, अध्यक्ष गुरुङले भने ।

अस्पताल निर्माणका लागि गाउँपालिकाले करिब रु २० करोड लागत अनुमान गरेको थियो । निर्माण व्यवसायीसँग भने रु १३ करोड ३० लाखमा ठेक्का सम्झौता भएको हो ।

सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको अस्पतालको विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । अस्पताल निर्माण सम्पन्न भएपछि क्व्होलासोथार गाउँपालिकाका स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।