काठमाडौँ – वैदिक सनातन हिन्दू परम्परामा पितृप्रति श्रद्धा अर्पण गर्ने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्षमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त पात्रोअनुसार आज आश्विन कृष्ण प्रतिपदा तिथि परेको छ। सोहीअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ। प्रतिपदा तिथिको श्राद्ध अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने विभिन्न सोह्र तिथिमा दिवङ्गत पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। यस अवधिलाई अपर पक्ष तथा प्रेत पक्षका नामलेसमेत चिनिन्छ।
वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। पितृ पक्षमा पितृहरू आफ्ना सन्तानबाट गरिने श्राद्धको अपेक्षामा रहने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। सोह्रश्राद्ध नगर्दा दोष लाग्ने शास्त्रीय मान्यताका आधारमा यसको निरन्तरता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
उनका अनुसार सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ। जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्रश्राद्ध छोड्न नहुने उनकाे भनाइ छ।
शास्त्रीय विधिअनुसार सोह्रश्राद्ध आफ्ना पिताको मृत्यु भएको तिथिमा गर्नुपर्छ। तर कुनै कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा शास्त्रले वैकल्पिक व्यवस्था पनि गरेको धर्मशास्त्रविद्हरू बताउँछन्।
आपत् धर्मअनुसार आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था रहेको प्रा डा भट्टराईले बताए। उक्त अवधिमा पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था छ।
कार्तिक कृष्ण औँसीमा पनि श्राद्ध गर्न नसकिएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म उपयुक्त दिन जुराएर गर्न सकिने व्यवस्था धर्मसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।
त्यसैगरी आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको श्राद्ध गर्न सकिने विकल्प रहेको प्रा डा भट्टराईले बताए। यस्ता विकल्प निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छन्।
यी सबै विकल्पमा पनि श्राद्ध गर्न नसकिएमा आफैँले वा नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय व्यवस्था रहेको उनले बताए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको उनकाे भनाइ छ।
धर्मशास्त्रविद्हरूले सोह्रश्राद्ध पिताको तिथिका दिन अपराह्नकालमा नै गर्नुपर्नेमा जोड दिएका छन्। कतिपय पुरोहितले आफ्नो अनुकूल बिहानै श्राद्ध गर्न सुझाउने गरेको जानकारी आए पनि बिहानको समयमा गरिने श्राद्ध शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँलगायत ठूला पर्व तथा चाडपर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने कर्म गर्ने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो।
यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोह्रश्राद्धसँगै बडादसैँ पर्वसमेत अघिल्ला वर्षको तुलनामा केही ढिला परेको छ।



