म्याग्दी – कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ। पुल बगाएपछि अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ तथा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार कालीगण्डकीको बाढीले पुल बगाएपछि उक्त क्षेत्रमा यातायात सञ्चालन पूर्ण रूपमा प्रभावित भएको हो।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर ३ को फगाममा अर्को घर पहिरोमा पुरिएको छ। पहिरोले पुरिएका दुवै घरमा रहेका दुई जनाको अवस्था अज्ञात रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ।
बाढीका कारण बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा समेत कालीगण्डकीले सडक कटान गरेको छ। सडक कटान भएपछि यातायात सञ्चालनमा थप समस्या भएको छ।
यसैबीच अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा समेत बाढी तथा पहिरोका कारण क्षति पुगेको छ। निरन्तरको वर्षा र नदीमा बढेको बहावका कारण अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा सडक, पुल तथा भौतिक संरचनामा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।



