पहिरो र बाढीले अवरुद्ध बेनी–दरवाङ सडक मर्मत सुरु

म्याग्दी – पछिल्लो झरीका कारण पहिरो र बाढीले क्षति पुर्‍याएर अवरुद्ध बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ ।

गण्डकी प्रदेश सरकार मातहत रहेको बेनी–दरवाङ–मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको थियो । उक्त सडकले म्याग्दीका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका साथै बागलुङको तमानखोला गाउँपालिकालाई जोड्छ ।

पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरी आइतबार अपराह्नदेखि बेनीतर्फबाट पहिरो पन्छाउने काम सुरु गरिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए ।

“पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ,” उनले भने, “बेनीदेखि तातोपानीसम्म आठ किलोमिटर सडकमा आइतबार साँझदेखि यातायात सुचारु भएको छ ।”

सोमबार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सीमाना फापरखेतदेखि मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका विभिन्न क्षेत्रमा उपलब्ध उपकरण परिचालन गरी सडक मर्मतलाई तीव्रता दिइएको छ । सडक खुलाउन सांसद जुग्जाली आफैँ स्थलगत रूपमा खटिएका छन्नु ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो मातहत रहेका सडक मर्मत गरी सकेसम्म छिटो यातायात सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार तीनै तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

यसैबीच, रसुवामा आएको बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला जोड्ने बेनी–जोमसोम–कोरला सडकमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । तिल्केनीचौरमा कालीगण्डकी नदीले सडक कटान गरेको, पोखरेबगरमा सडक पुलको पहुँचमार्गमा क्षति पुगेको तथा खामभित्तामा समेत सडक कटान भएको प्रारम्भिक विवरण आएको प्रजिअ गैरेले जानकारी दिए ।

थप क्षतिको विवरण सङ्कलन गरी सडक मर्मत अघि बढाउन सङ्घीय सरकार मातहतको सडक विभागसँग समन्वय भइरहेको उनले बताए । बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङको यातायात सम्पर्कविच्छेद भएको छ ।

सडक अवरुद्ध हुँदा कोरला नाकाबाट हुने आयात–निर्यातसमेत प्रभावित भएको छ । मुस्ताङबाट स्याउ र च्याङ्ग्रा बिक्रीका लागि अन्य बजारमा पठाउन समस्या भएको छ । सोह्रश्राद्धका समयमा हिन्दू धर्मावलम्बी कागबेनीमा पुगेर पितृ तर्पण गर्ने भएकाले सडक अवरोधले धार्मिक गतिविधिसमेत प्रभावित हुने अवस्था छ । यस्तै, शरद् याम पर्यटकीय मौसम भएकाले सडक अवरोधले मुस्ताङको पर्यटन गतिविधिमा समेत असर पर्न सक्ने देखिएको छ।