संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै पौवादुङको कोटगढी

भोजपुर – ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भोजपुरको पौवादुङ गाउँपालिकास्थित कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यले गाउँपालिकाले कोटगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको हो ।

कोटगढीको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले परिसरमा पदमार्गसँगै मन्दिर निर्माण गरिएको छ । पदमार्ग र मन्दिर निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहासप्रेमीको आवागमन बढ्न थालेको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासी सन्तोष कोइरालाले कोटगढी क्षेत्रको संरक्षण र पूर्वाधार विकासपछि यसको पहिचान थप उजागर हुन थालेको बताए । उनका अनुसार यसले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे जानकारी हासिल गर्ने अवसरसमेत दिएको छ ।

“आगामी दिनमा थप पूर्वाधार, विश्रामस्थल तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न सके कोटगढी भोजपुर जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ,” कोइरालाले भने ।

गाउँपालिका केन्द्रनजिकै रहेको कोटगढीमा सहज पहुँचका लागि गाउँपालिकाले यसअघि रु ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहितको पदमार्ग निर्माण गरेको हो । स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको व्यवस्था मिलाउन कोटगढी पुग्ने दुईतर्फ सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले विशेष ध्यान दिएको बताए।

“कोटगढी आफैँमा ऐतिहासिक क्षेत्र हो,” उपाध्यक्ष राईले भने, “हामीले यो क्षेत्रको विकासमा जोड दिएका छौँ ।”

गाउँपालिका अध्यक्ष किरण राईले पौवादुङ गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलको एकीकृत विकासमा जोड दिइएको बताए । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको उनकाे भनाइ छ ।

“गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिइएको छ,” अध्यक्ष राईले भने, “कोटगढी जस्ता ऐतिहासिक स्थलको संरक्षणले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा लिएका छौँ ।”