दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक – निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ।

काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्‍याउने उद्देश्यले पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ भदौ १० गते सम्झौता भएको थियो। सम्झौताअनुसार तीन वर्षभित्र अर्थात् २०८० जेठ २ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, निर्माण व्यवसायीले काममा आलटाल गर्दा पुल अझै अधुरै छ।

विभागका इन्जिनियर निरोज महर्जनका अनुसार निर्माण कम्पनीले विभिन्न बहाना गर्दै काममा ढिलाइ गरेको स्थानीयको गुनासो छ। तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि विभागीय निर्णयअनुसार २०८१ वैशाख २० गते पुल निर्माणका लागि २३ महिना २५ दिन म्याद थप गरिएको थियो। तर, थपिएको अवधिमा पनि निर्माण व्यवसायीले काम सम्पन्न नगरेको महर्जनले बताए ।

भ्याटसहित रु ११ करोड सात लाख ४२ हजार २०० मा ठेक्का सम्झौता गरिएको पुलको हालसम्म तीन वटा पिल्लर मात्र निर्माण भएका छन्। काभ्रेपलाञ्चोकतर्फ एउटा स्पानसमेत तयार भएको छ। त्यसपछि निर्माणको काम अघि बढ्न सकेको छैन।

पुल निर्माण सम्पन्न नहुँदा भुम्लुका स्थानीयवासीले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता रहेको भुम्लु गाउँपालिका–१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठले बताए ।

“पुल नबन्दा यहाँका नागरिकले १५ किलोमिटरभन्दा बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ, पुल बन्दा चार किलोमिटर मात्रै हिँडे पुग्छ,” उनले भने ।

पुल निर्माणमा भएको ढिलाइका कारण भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सहज सडक पहुँच पुग्न सकेको छैन। पुल निर्माण सम्पन्न भएमा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य सामग्री तथा कृषि उत्पादन ओसारपसारमा समेत सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच काभ्रेपलाञ्चोकका सांसद बदन भण्डारीले केही दिनअघि अलपत्र अवस्थामा रहेको पुलको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। उहाँले पुल निर्माण सम्पन्न गर्न आवश्यक पहल गर्ने बताएका छन् ।