बालेनको राष्ट्रसंघीय सम्बोधनले विश्वको ध्यान तान्यो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनलाई विश्व समुदायले उच्च महत्व र चासोका साथ लिएको बताएका छन्।

महासभामा सहभागी भएर आज स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री शाहले विश्व मञ्चमा नेपाललाई प्रस्तुत गर्ने विषयमा अन्तर्राष्ट्रियस्तरमै ठूलो प्रतीक्षा रहेको आफूले पाएको बताए।

उनका अनुसार प्रधानमन्त्री शाहको सम्बोधनपछि विश्वभरका समाचारका शीर्षकसमेत सोही सम्बोधन बनेका थिए। ‘उहाँको सम्बोधनपछि विश्वभरिका समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्,’ मन्त्री खनालले भने, ‘यस वर्ष राष्ट्रसंघको महासभामा सबैभन्दा बढी हेरिएको मन्तव्यको भिडियो पनि सम्माननीय प्रधानमन्त्रीज्यूकै छ। यसले संसारभरि कति धेरै चासो छ भन्ने प्रस्ट पार्छ।’

प्रधानमन्त्री शाहको सम्बोधनपछि न्युयोर्कमा भएका विभिन्न औपचारिक तथा अनौपचारिक भेटवार्तामा विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञहरूले सम्बोधनको खुलेर प्रशंसा गरेको पनि मन्त्री खनालले बताए।

विश्व समुदायले प्रधानमन्त्री शाहले विश्व मञ्चमा उठाएका विषय र राखेका मुद्दाप्रति बलियो ऐक्यबद्धता जनाएको उनको भनाइ छ। साथै, भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा जलवायु संकटविरुद्धको नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न गहिरो चासो देखाएको उनले बताए।

मन्त्री खनालले प्रधानमन्त्री शाहको भारत भ्रमण उपयुक्त समयमा हुने बताए। नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराउँदै उनले भ्रमणलाई परिणाममुखी बनाउने तयारी भइरहेको जानकारी दिए।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ।’

यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक मिति भने अहिलेसम्म तय नभएको उनले स्पष्ट पारे। ‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन। तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ,’ मन्त्री खनालले भने।