कोरला नाका हुँदै ११ दिनमा ५४३ टन फलफूल आयात, सडक अवरुद्ध हुँदा ३० लाखको क्षति

मुस्ताङ – चीनबाट नेपाल भित्रिएको फलफूल सडक अवरुद्ध हुँदा गन्तव्यमा पुर्‍याउन समस्या भएको छ। नेपाल–चीन उत्तरी कोरला नाकाबाट ११ दिनको अवधिमा ५४३ टन फलफूल आयात भएको भए पनि भारी वर्षा र हिमपातपछि बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा फलफूल ढुवानी प्रभावित भएको हो। समयमै बजारसम्म पुर्‍याउन नसक्दा फलफूल कुहिने र बिग्रने जोखिम बढेको छ।

लोमान्थाङ गाउँपालिका–४, न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार पछिल्लो ११ दिनमा कोरला नाका हुँदै विभिन्न प्रकारका चिनियाँ फलफूल नेपाल भित्रिएका छन्। कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार यस अवधिमा ८७ दशमलव ३०० टन स्याउ, १६ दशमलव १०० टन आँप र आठ दशमलव ३१६ टन ड्रागन फ्रुट आयात भएको छ।

भारी वर्षा र हिमपातपछि असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध छ। सडक बन्द हुँदा कोरला नाकाबाट भित्रिएका फलफूलजन्य मालवस्तु गन्तव्यसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ। कन्टेनरभित्र लामो समयसम्म फलफूल राख्नुपर्दा सड्ने र बिग्रने जोखिमसमेत बढेको छ।

यसैबीच, समयमै गन्तव्यमा पुर्‍याउन नसकिएको करिब आठ टन चिनियाँ ड्रागन फ्रुट बिहीबार जोमसोममा स्थानीयलाई वितरण गरिएको छ। करिब २४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको फलफूल बिग्रन सक्ने अवस्था आएपछि स्थानीयलाई वितरण गरिएको कम्पनीका प्रतिनिधि सुवास सुनुवारले जानकारी दिए ।

उनका अनुसार कन्टेनरमा रहेको ड्रागन फ्रुट कुहिएर पूर्ण रूपमा नष्ट हुनुभन्दा स्थानीयलाई वितरण गर्नु उपयुक्त ठानिएको हो। तर, फलफूलको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्वसमेत जोड्दा अनुमानित ३० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

कोरला नाकाबाट आयात भएका फलफूलको ढुवानी सडक अवरुद्ध हुँदा प्रभावित बनेपछि व्यापारीलाई आर्थिक नोक्सानीको जोखिम बढेको छ। लामो समयसम्म सडक सञ्चालनमा आउन नसक्दा फलफूलको गुणस्तरमा असर पर्ने र आयातित वस्तु गन्तव्यसम्म पुर्‍याउन थप समस्या हुने देखिएको छ।