म्याग्दी – दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रा पार गर्दै शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्। प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा लामो समय लगाएर बजारसम्म आइपुगेका उनीहरूलाई अब भेडाच्याङ्ग्रा समयमै बिक्री गर्न पाइने हो कि होइन भन्ने चिन्ताले सताउन थालेको छ।
मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा खेदाएर ल्याएको हो। तीमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरिएका हुन्। दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए। तर, बाटोमा परेको हिमपात र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएपछि निर्धारित समयभन्दा निकै ढिलो गरी गलेश्वर आइपुगेका हुन्।
“यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भने, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ। घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ।”
शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने उनीहरूको योजना छ। तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग कस्तो रहने र ल्याइएका सबै भेडाच्याङ्ग्रा बिक्री हुने हुन् कि होइनन् भन्ने चिन्ता उनीहरूमा छ। लामो यात्राका कारण खर्च बढेको र बिक्रीका लागि उपलब्ध समय छोटिएकाले लगानीसमेत जोखिममा पर्ने चिन्ता किसानलाई छ।
“ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,” बिकले भने।
मुगुका किसानले भोगेको यो समस्या यस वर्ष भेडाच्याङ्ग्रा लिएर बजार झर्ने धेरै हिमाली किसानको साझा समस्या बनेको छ। डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट दसैँको बजार लक्षित गरेर भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारी प्रतिकूल मौसम र सडक अवरोधका कारण प्रभावित भएका छन्। कतिपयले लामो दूरी पैदल पार गर्नुपरेको छ भने कतिपयले सवारीसाधनबाट ढुवानी गर्नसमेत कठिनाइ भोगेका छन्।
डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन्। उनीहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ अघि बढेका हुन्। घरबाट हिँडेको २२ दिन भइसकेको रोकायाको टोलीका लागि पनि यसपालिको यात्रा सहज रहेन। भेडाच्याङ्ग्रापालन नै मुख्य पेसा बनाएका उनीहरू हरेक वर्ष दसैँको बजारमा बिक्री गर्न विभिन्न सहर पुग्ने गर्छन्। तर, यस वर्ष बाढीपहिरो र सडक अवरोधले यात्रा थप कष्टकर बनाएको छ।
डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल यात्रा गरेर एक सय ६० च्याङ्ग्रा बिक्रीका लागि पोखरातर्फ लागेका छन्। समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर बजारसम्म पुर्याउनु आफैँमा कठिन काम हो। भिर, खोल्सा र साँघुरा बाटो पार गर्दै पशुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन किसानले लामो समय र श्रम खर्चिनुपर्छ।
“भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” बुढाले भने।
यसपालि असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनाउँदा भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउने काम झनै प्रभावित भयो। सडक अवरुद्ध हुँदा पैदल हिँडाएर ल्याइएका भेडाच्याङ्ग्रा र सवारीसाधनबाट ढुवानी गरिने पशु दुवैको आवागमनमा समस्या भयो। यसले किसानको यात्रा लम्ब्याउनुका साथै ढुवानी खर्चसमेत बढाएको छ।
दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्ने क्रम बढेको छ। मुस्ताङको जोमसोमदेखि म्याग्दीको बेनी र गलेश्वरसम्म किसान तथा व्यापारीको चहलपहल देखिए पनि सडक र मौसमको प्रतिकूलताले आपूर्ति प्रभावित भएको छ। मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ।
तर, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए। हिमपातका कारण बाटो अवरुद्ध हुँदा बिक्रीको मुख्य समयमा बजारसम्म पुग्न नसक्ने किसानको आम्दानी प्रभावित हुने देखिएको छ।
तातोपानी र रसुवा नाका बन्द भएकाले यस वर्ष ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्ति गर्ने मुख्य मार्ग मुस्ताङ बनेको छ। जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ। कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइसकिएको छ। गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए। यस वर्ष प्रतिकूल मौसम र यातायातको समस्याले निकासीको अवस्था कस्तो रहने भन्ने अन्योल कायम छ।
लागत बढ्यो, खरिदबिक्रीमा पनि समस्या
लामो यात्रा, ढुवानीमा भएको ढिलाइ र सडक अवरोधका कारण किसान तथा व्यापारीको लागत बढेको छ। मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ। बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार असोज दोस्रो सातादेखि मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भएको हो।
“किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उनले भने।
व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार एउटा भेडा ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्म र एउटा च्याङ्ग्रा करिब ४० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बेनीमा आइपुग्दा भेडाको मूल्य प्रतिगोटा करिब ३६ हजार रुपैयाँ र च्याङ्ग्राको मूल्य ४५ हजार रुपैयाँ पुगेको बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताए।
“पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,” उनले भने, “महँगो परे पनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ।”
मुस्ताङी भेडाच्याङ्ग्राको मुख्य बजार पोखरा र काठमाडौँ हुन्। यसबाहेक म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा समेत यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताए। दसैँको समयमा हिमाली भेडाच्याङ्ग्राको मासुको माग बढ्ने भएकाले किसानले यही समयलाई वर्षभरिको आम्दानी जुटाउने अवसरका रूपमा लिने गरेका छन्।
च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान
मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार च्याङ्ग्रापालन हिमाली क्षेत्रका किसानको मुख्य आयस्रोत हो। मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्। विशेषगरी उपल्लो मुस्ताङका किसानको जीविकोपार्जनमा च्याङ्ग्रापालनको महत्त्वपूर्ण भूमिका छ। च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा समेत प्रयोग हुने भएकाले यसको आर्थिक महत्त्व मासुमा मात्र सीमित छैन।
यद्यपि, च्याङ्ग्रापालनमा अनेक चुनौती छन्। हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुने गरेको छ। पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र पशुका लागि आहार अभाव हुने समस्या छ। अर्कोतर्फ, हिउँदमा अत्यधिक हिमपात हुँदा चरन क्षेत्र ढाकिने र आहार नपाएर भेडाबाख्रा मर्ने समस्या पनि किसानले भोग्दै आएका छन्।
यस्ता चुनौतीबीच किसानले वर्षभरि पशुपालनमा गरेको मेहनतको प्रतिफल दसैँको बजारबाट प्राप्त हुने अपेक्षा राख्छन्। तर, यसपालि प्रतिकूल मौसम, हिमपात, बाढीपहिरो र सडक अवरोधले उनीहरूको यात्रा लम्ब्याएको छ। बजारमा पुग्न ढिलाइ हुँदा बिक्रीको अवसर गुम्ने जोखिम बढेको छ भने लामो यात्राले खर्चसमेत थपिएको छ।
दसैँका लागि हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर बजार झरेका किसानका लागि अहिले सबैभन्दा ठूलो चिन्ता पशु सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु मात्र होइन, समयमै बिक्री गरेर वर्षभरिको मेहनतको उचित मूल्य पाउनु पनि हो। बजारमा माग र बिक्रीको अवस्था कस्तो रहने भन्ने अनिश्चितताबीच उनीहरू लामो यात्राको थकान र बढ्दो लागत बोकेर दसैँको व्यापारको प्रतीक्षामा छन्।



