जलजलामा बाढीपहिरोको क्षति मूल्याङ्कन अन्तिम चरणमा, ३१६ घर प्रभावित

म्याग्दी – गत असोजमा आएको बाढीपहिरोबाट प्रभावित पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन तथा मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । निजी आवासको पुनर्निर्माण, प्रबलीकरण र पुनःस्थापनाका लागि गाउँपालिकाले जनप्रतिनिधि र प्राविधिकको संयुक्त टोली परिचालन गरी क्षतिको विवरण सङ्कलन तथा मूल्याङ्कन गरिरहेको छ ।

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोले जलजलामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । विपद्बाट प्रभावित परिवारको वास्तविक अवस्था पहिचान गरी पुनर्निर्माण र पुनःस्थापनाको प्रक्रिया अघि बढाउन गाउँपालिकाले वडास्तरमै स्थलगत निरीक्षण गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार वडा नं १, २, ३, ४, ५, ६ र ९ मा स्थलगत निरीक्षण, क्षतिको मूल्याङ्कन तथा प्रभावितलाई निस्सा वितरणको काम सम्पन्न भइसकेको छ । सबैभन्दा बढी क्षति पुगेका वडा नं ७ धाइरिङ र नाग्लीवाङमा पनि एक–दुई दिनभित्र मूल्याङ्कन र निस्सा वितरणको काम पूरा हुने उनले बताए ।

“विपद् प्रभावितलाई राहत उपलब्ध गराउने काम सकेर अहिले अस्थायी आवास व्यवस्थापन र पुनर्निर्माणको चरणमा प्रवेश गरेका छौँ”, उपाध्यक्ष आचार्यले भने ।

गाउँपालिकाका अनुसार बाढीपहिरोबाट जलजलामा ३१६ घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । तीमध्ये १२६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५० घरमा आंशिक क्षति पुगेको छ । थप १४० घर जोखिममा रहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप लामिछानेका अनुसार प्रारम्भिक विवरणका आधारमा प्रभावित घरपरिवारको पहिचान र क्षतिको वर्गीकरण भइरहेको छ ।

क्षतिको विवरण सङ्कलनपछि निजी आवासको प्रारम्भिक लेखाजोखा तयार गर्ने, सूचना प्रणालीमा विवरण प्रविष्ट गर्ने, लगत सङ्कलन सम्पन्नताको निस्सा दिने तथा लाभग्राही पहिचान गरी सूचीसहितको विवरण जिल्ला पठाउने काम गरिनेछ । क्षतिको अवस्थाअनुसार प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापनाका लागि लाभग्राही कायम गर्न जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष सिफारिस गरिने उपाध्यक्ष आचार्यले जानकारी दिए ।

जलजलामा बाढीपहिरोले निजी आवासमा मात्र नभई कृषि उत्पादन र भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ । कोदो, धानलगायत खाद्यबाली तथा सुन्तलाखेती हुने खेतीयोग्य जमिन बगाएको छ । सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका लागि निर्माण गरिएका संरचनासमेत क्षतिग्रस्त भएका छन् ।

कालीगण्डकी नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित जलजला गाउँपालिका–८ को फर्सेमा मात्रै ७५ घर बगाएको छ भने थप २७ घर जोखिममा परेका छन् । घरबार गुमाएका र अन्यत्र बसोबासको व्यवस्था गर्न नसक्ने प्रभावित परिवारलाई अस्थायी शिविर बनाएर राखिएको छ ।

फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि बाढीपहिरोबाट प्रभावित भएका छन् । पहिरोका कारण ती दुई बस्तीका ३५ परिवार विस्थापित भएका छन् । त्यस्तै, वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकी नदीको बाढी पसेर क्षति पुर्‍याएको छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनेदेखि अल्पकालीन र दीर्घकालीन पुनःस्थापनासम्मका योजना अघि बढाइएको छ । विस्थापित परिवारलाई तत्काल जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा निर्माण गरी बसोबासको व्यवस्था मिलाउने तयारी गरिएको उनले बताए ।

“तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ”, अध्यक्ष आचार्यले भने, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।”

विपद्पछि जलजलाको पुनःस्थापनाका लागि निजी आवास निर्माणसँगै क्षतिग्रस्त सडक, खानेपानी आयोजना, सिँचाइ प्रणाली र विद्यालय भवनको पुनर्निर्माण गर्नुपर्ने चुनौती रहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै, भविष्यमा बाढीपहिरोको जोखिम कम गर्न जोखिममा रहेका बस्तीको संरक्षण र नदी नियन्त्रणका काम पनि आवश्यक देखिएका छन् ।

यी कामका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र विभिन्न दातृ निकायसँग समन्वय भइरहेको अध्यक्ष आचार्यले बताए । क्षतिको मूल्याङ्कन पूरा भएपछि प्रभावित परिवारको वर्गीकरण गरी पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउने गाउँपालिकाको तयारी छ ।