तुलसीपुर (दाङ) – पश्चिम राप्ती नदीमा बाढी जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउन वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका र आसपासका क्षेत्रमा नदीको बहाव, जोखिम तथा आवश्यक पूर्वाधारको अवस्थालाई आधार बनाएर अध्ययन सुरु गरेको हो ।
पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा पछिल्लो समय भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको प्रभावलाई ध्यानमा राखेर अध्ययन अघि बढाइएको आयोजनाले जनाएको छ । नदीमा आउने बाढीबाट हुने क्षति न्यूनीकरण गर्नुका साथै आगामी दिनमा निर्माण गरिने नदी नियन्त्रण, पुल तथा अन्य जलसम्बन्धी पूर्वाधारलाई दिगो बनाउन वैज्ञानिक आधार तयार पार्ने उद्देश्य राखिएको छ ।
आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन कार्य सम्पन्न गरिएको छ । यस अध्ययनले नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गर्न र त्यसअनुसार आवश्यक संरचना निर्माणको योजना बनाउन सहयोग पुग्ने उनले बताए ।
विशेषगरी नौमुरे बाँध निर्माणपश्चात् पश्चिम राप्ती नदीमा सुक्खायाममा देखिन सक्ने पानीको अभाव तथा वर्षायाममा आउने बाढीको प्रभावकारी व्यवस्थापनका लागि अध्ययन महत्त्वपूर्ण हुने आयोजनाको विश्वास छ । नदीको बहाव र पानीको अवस्थालाई वैज्ञानिक रूपमा विश्लेषण गरी आवश्यक पूर्वाधार निर्माण गर्न सके बाढीको जोखिम घटाउनुका साथै पानीको उपलब्धतालाई पनि व्यवस्थित गर्न सकिने सूचना अधिकारी वलीले बताए ।
वैज्ञानिक अध्ययनका आधारमा नदी नियन्त्रणका संरचना, पुल तथा अन्य जलप्रवाहसम्बन्धी पूर्वाधार निर्माण गर्दा डिजाइनमा एकरूपता कायम हुने र जलवायु परिवर्तनको असर सहन सक्ने दिगो संरचना निर्माण गर्न सहज हुने आयोजनाको भनाइ छ ।
यसैगरी, नदी नियन्त्रणका लागि यसअघि निर्माण गरिएका संरचनाको संरक्षण र आगामी दिनमा सञ्चालन गरिने योजनालाई पारदर्शी तथा व्यवस्थित बनाउन वेबमा आधारित सम्पत्ति व्यवस्थापन प्रणालीसमेत तयार पारिएको छ । उक्त प्रणालीमार्फत हालसम्म निर्माण भएका संरचनाको डिजिटल अभिलेख राखिनेछ ।
प्रणालीमा निर्माण गरिएका संरचनाबाट स्थानीय समुदायले प्राप्त गरेको लाभ, थप निर्माण गर्नुपर्ने संरचनाको आवश्यकता, अनुमानित लागत तथा त्यसबाट प्राप्त हुने प्रतिफलसमेत समेटिनेछ । यी विवरणका आधारमा नदी व्यवस्थापनसम्बन्धी गतिशील गुरुयोजना तयार गरिने आयोजनाले जनाएको छ ।
नदीको बहाव परिवर्तन, बाढीको जोखिम र जलवायु परिवर्तनका चुनौतीलाई वैज्ञानिक अध्ययनका आधारमा सम्बोधन गर्दै पश्चिम राप्ती नदीको दीर्घकालीन व्यवस्थापन गर्ने आयोजनाको लक्ष्य रहेको छ । यसबाट देउखुरी उपत्यकाको बस्ती, कृषि क्षेत्र र भौतिक पूर्वाधारलाई बाढीको जोखिमबाट जोगाउन तथा नदी व्यवस्थापनका आगामी योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



