सरकार स्वेच्छाचारी भयो, संविधान र कानुनको बेवास्ता गरियो : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार स्वेच्छाचारी बनेको आरोप लगाएका छन् । सरकारले संविधान र कानुनी व्यवस्थाको बेवास्ता गर्दै सत्ताको दुरुपयोग गरेको उनकाे टिप्पणी छ ।

सिंहदरबारमा जारी कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै महामन्त्री पौडेलले सरकारले कानुनी व्यवस्थालाई कमजोर बनाएको र राज्यका संवैधानिक निकायमाथि हस्तक्षेप बढाएको आरोप लगाएका हुन् ।

बैठकमा सहभागी स्रोतका अनुसार पौडेलले सरकारले संविधान र कानुनको बेवास्ता गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका गिए ।

‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो,’ उनकाे भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो, ‘कानुनी व्यवस्थालाई कमजोर बनायो र सत्ताको दुरुपयोग गर्‍यो ।’

महामन्त्री पौडेलले सरकारका गतिविधिविरुद्ध अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्न सरकारसँग माग गर्न संसदीय दललाई आग्रहसमेत गरेका छन् ।

त्यस्तै, अदालतमा भएको भनिएको सेटिङ प्रकरणमा बिचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरीसमेत मुछिएको विषयको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनकाे माग छ ।

सरकार आफैँले उक्त प्रकरणको निष्पक्ष छानबिन गर्नेमा विश्वास गर्न नसकिने उल्लेख गर्दै पौडेलले प्रतिपक्षी दल, संसद्, जनता र प्रेसमाथि सरकारको ज्यादती बढेको आरोप लगाएका छन् ।

‘सरकारले नै यसबारे निष्पक्ष छानबिन गर्नेमा विश्वास छैन,’ उनकाे भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रतिपक्षी, संसद्, जनता र प्रेसमाथि सरकारले हेप्यो र ज्यादती बढ्यो । राज्यका संवैधानिक अंगहरूलाई कमजोर बनाइयो ।’

यसैबीच, कांग्रेस संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयसँगै पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको छ ।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बैठकमा यी विषयहरू छलफलको कार्यसूचीमा रहेको जानकारी दिनुभएको छ । महामन्त्री पौडेलले आफ्नो धारणा राखेर बैठकस्थलबाट बाहिरिएका छन् भने संसदीय दलको बैठक जारी रहेको छ ।