बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङ – बझाङको केदारस्युँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए।

दुर्घटनामा पाँच जना गम्भीर र एक जना मध्यम घाइते भएका छन्। गम्भीर घाइते हुनेमा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी रहेका छन्।

त्यस्तै, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन्। स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएका छन्।

प्रहरीका अनुसार बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

घटनास्थल पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताएका छन्। प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।