बागलुङ – बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको परिचय पछिल्लो समय फेरिएको छ । कुनै समय प्लास्टिक टनेलभित्र तरकारी खेती गर्दै आएकी थापा अहिले व्यावसायिक फूलखेती गर्ने किसानका रूपमा चिनिन थालेकी छन् । तरकारी खेती छाडेर सुरु गरेको फूलखेतीले उनलाई आम्दानीसँगै स्थानीयस्तरमा नयाँ पहिचान पनि दिएको छ ।
तीन वर्षअघि फूलखेती सुरु गरेकी थापाले अहिले भाडामा लिएको दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टनेल निर्माण गरेर मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन् । तरकारी खेतीबाट भन्दा फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले आफ्नो कृषि व्यवसायको स्वरूप नै परिवर्तन गरेकी हुन् ।
बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि थापालाई फूलखेतीतर्फ आकर्षित हुने वातावरण बनेको हो । मन्दिरमा पूजा तथा दर्शनका लागि आउने भक्तजनले फूल खरिद गर्ने भएकाले आफ्नै गाउँठाउँमा उत्पादन गरेको फूलको बजार पाउन सहज भएको उनको अनुभव छ ।
“लामो समयदेखि तरकारीखेती गर्दै आएकी थिएँ । तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूलखेतीमा लागेकी हुँ । तीन वर्ष भयो, फूलखेतीबाट घरखर्च राम्रै चलेको छ,” थापाले भनिन्, “वार्षिक दुई लाख ५० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ । बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ ।”
उनका अनुसार बेमौसममा उत्पादन भएको फूल प्रतिकिलो चार सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । मौसमी फूल भने प्रतिकिलो दुई सय रुपैयाँसम्म बिक्री हुन्छ । प्लास्टिक टनेलभित्र खेती गर्दा मौसमअनुसार फूल उत्पादन गर्न सकिने भएकाले बजारमा माग भएका समयमा फूल बिक्री गर्न सहज हुने उनको भनाइ छ ।
बागलुङमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको संख्या अझै कम छ । त्यसैले थापाले उत्पादन गरेको फूलका लागि बजार खोज्दै टाढा जानुपर्ने अवस्था छैन । टनेलमा उत्पादन गरिएको सयपत्री फूल विशेषगरी नजिकैको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री हुँदै आएको छ ।
स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा पूजा गर्न तथा दर्शनका लागि आउने भक्तजनलाई पनि सहज भएको छ । पहिले बाहिरबाट ल्याइने फूलमा निर्भर हुनुपर्ने अवस्थामा अहिले स्थानीय किसानले उत्पादन गरेको फूल खरिद गर्न पाउने अवस्था बनेको छ । यसले किसानको आम्दानीसँगै स्थानीय बजारमा फूलको उपलब्धता बढाएको छ ।
अहिले थापा तिहारलाई लक्षित गरेर सयपत्री फूल बिक्रीको तयारीमा छिन् । तिहारका बेला सयपत्री फूलको माग बढ्ने भएकाले उनले उत्पादनलाई सोहीअनुसार व्यवस्थापन गरेकी छन् । प्लास्टिक टनेलमा फूल उत्पादन गर्ने भएकाले मौसमको प्रतिकूलताबीच पनि आवश्यक समयमा फूल उत्पादन गर्न सकिने उनको अनुभव छ ।
तर फूलखेतीमा पनि बजारको अवस्था महत्वपूर्ण हुने थापा बताउँछिन् । स्थानीय उत्पादनले बजार पाएको अवस्थामा आम्दानी राम्रो हुने भए पनि बाहिरबाट ठूलो परिमाणमा फूल भित्रिँदा स्थानीय किसानको उत्पादन बिक्री हुन समस्या हुने गरेको उनको गुनासो छ । कहिलेकाहीँ बजार अभावका कारण फूल बोटमै कुहिने अवस्था आउने गरेको उनले बताइन् ।
तरकारी खेतीमा विषादी प्रयोग गर्नुपर्ने र त्यसबाट हुने झन्झटबाट आजित भएकी थापाले विकल्पका रूपमा रोजेको फूलखेती अहिले उनको घरखर्च चलाउने भरपर्दो माध्यम बनेको छ । दुई रोपनी जग्गाबाट सुरु भएको उनको फूलखेतीले स्थानीय माग पूरा गर्नुका साथै कृषि व्यवसायलाई फरक ढङ्गले अघि बढाउन सकिने सम्भावनासमेत देखाएको छ ।
तिहारजस्ता चाडपर्वमा फूलको माग बढ्ने र स्थानीय मन्दिरमा नियमित खपत हुने भएकाले थापाका लागि फूलखेती अहिले केवल रहरको खेती रहेन । तरकारीको सट्टा फूल रोजेकी कमलाको खेतमा फुलेका फूलसँगै उनको आम्दानीको बाटो पनि विस्तार हुँदै गएको छ ।



