रविले भने– दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्।

सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए।

‘सरकारले सक्ने जति जोड बल लगाएको छ । केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन्। तिमीहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो,’ रविले भने, ‘शरिरमा एक थोपा रगत हुनजेसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु । चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार, मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन । म राजनीतिमा हुन्नथे भने यो दुख खेप्नुपर्ने पनि थिए। लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’

Laxmi sunrise bank 2034

सभापति लामिछानेले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिला अझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्नेवाला पनि नरहेको जिकिर गरे। जतिसुकै आक्षेप लागेपनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए।

‘सरकारको षड्यन्त्रको यो शिलशिला अझै सकिएको छैन, तर कुनै दिनपनि हार मानेको थिइन, कहिल्यै हार मान्नेवाला पनि छैन। जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ,’ उनले भने, ‘जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु।’