डोलखा — गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रस्थित यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान परेको हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह बिहान करिब ९ः०० बजे हिमपहिरोमा परेको हो । अन्य आरोहीहरूको अवस्था भने अझै एकिन हुन सकेको छैन ।
वडाध्यक्ष निमगेली शेर्पाका अनुसार बिहानैदेखि उद्धारका लागि आग्रह गरिए पनि प्रशासनले ढिलाइ गरेको बताइएको छ । उनका अनुसार रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्रमा पर्ने भएकाले हेलिकप्टर उडानका लागि अनुमति लिन ढिलाइ हुँदा उद्धारमा समस्या भएको हो ।
प्रहरीका अनुसार घटनास्थलमा उद्धारका प्रयास जारी छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारका लागि टोली पठाएको र हेलिकप्टर पनि त्यसतर्फ परिचालन गरिएको जनाइएको छ । तर प्रतिकूल मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।



