आईजीपी पदबाट हटाइएका कार्की पुनर्वहाली माग्दै सर्वोच्च जाँदै

काठमाडौं – जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा छन् ।

कार्की निकट कानुन व्यवसायीका अनुसार पदावधि कायम रहेकै अवस्थामा बिनाकारण जिम्मेवारीबाट हटाइएको भन्दै प्रहरी ऐन र नियमावलीविपरीत भएको दाबी रिटमा गरिनेछ ।

प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ ले प्रहरी महानिरीक्षकका लागि तोकेको सेवा अवधि, पदावधि र उमेर हद तीनवटै आधारमा कार्कीलाई पदबाट हटाउन नमिल्ने दाबी रिटमा गरिएको छ ।

कार्की २०५४ चैत १८ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । नियमावलीअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि ३० वर्ष, उमेर हद ५८ वर्ष र पदावधि चार वर्षको व्यवस्था छ । कार्कीको जन्ममिति २०२९ साउन १५ भएकाले हाल उहाँ ५४ वर्षका छन् । आईजीपी नियुक्त भएको आगामी कात्तिक २७ गते एक वर्ष पुग्नेछ ।

कार्कीको पक्षमा नेपाल बारका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ताहरू भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन् ।