ललितपुर महानगरको स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउन्ड मेसिन सहयोग

ललितपुर — हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिका–१० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउन्ड मेसिन सहयोग गरेको छ ।

ललितपुर–१० मा आयोजित कार्यक्रममा मेसिन औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, वडा नम्बर १० का अध्यक्ष, वडा सदस्य, स्वास्थ्य केन्द्रका प्रतिनिधि, स्थानीयवासी तथा कम्पनीका प्रतिनिधिहरू उपस्थित थिए ।

कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले समुदायको प्रत्यक्ष हित हुने कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस्ता गतिविधि सञ्चालन भइरहेको बताइन् । उनले यो अल्ट्रासाउन्ड मेसिनले स्थानीय स्तरमै सहज, समयमै र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । विशेषगरी मातृ तथा बालस्वास्थ्य सेवामा यसको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सले बीमा व्यवसायलाई केवल जोखिम व्यवस्थापनको माध्यम मात्र नभई समाजको दिगो विकासमा साझेदार बन्ने अवसरका रूपमा लिने नीति अवलम्बन गर्दै आएको छ । कम्पनीले स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको जनाएको छ ।

कम्पनीले आगामी दिनमा पनि समुदायको जीवनस्तर उकास्ने, जनस्वास्थ्य सुधारमा टेवा पु¥याउने र सामाजिक रूपमा अर्थपूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ ।