छठमा जातीय विभेद र छुट्टै घाट बनाउन लगाउनेलाइ कारबाहि हुने

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका क्रममा जातीय विभेद तथा छुवाछुत नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै दलित समुदायका लागि छुट्टै छठ घाट बनाउने वा बनाउन लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार छठ धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावको पर्व भएकाले कुनै जात, वर्ग वा समुदायका आधारमा विभेद हुने गतिविधि गर्नु संविधानको मर्म र समानताको सिद्धान्तविपरीत हुन्छ । सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातीय आधारमा छुट्टाछुट्टै घाट निर्माण गर्ने वा कुनै समुदायलाई अलग्याउने कार्य नगर्न मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपालको संविधानको धारा १८ ले समानताको हक र धारा २४ ले छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको स्मरण गराउँदै मन्त्रालयले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय आधारमा हुने छुवाछुत तथा भेदभाव दण्डनीय कसुर रहेको जनाएको छ ।

यस्ता विभेदकारी गतिविधि हुन नदिन स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारणले जिम्मेवार भूमिका निर्वाह गर्न मन्त्रालयले आग्रह गरेको छ ।

छठ पर्वले आपसी मेलमिलाप, बन्धुत्व र राष्ट्रिय एकतालाई बलियो बनाउने भएकाले सबै जातजाति, वर्ग, क्षेत्र र समुदायको समान अधिकार, आत्मसम्मान र सहभागिता सुनिश्चित गर्न मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना पनि व्यक्त गरेको छ ।