उपत्यकामा रात्रीकालीन बसमा भक्तपुरका स्थानीय तहलाई जोडिन काठमाडौं महानगरको प्रस्ताव

काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकामा विस्तार गर्न लागेको रात्रीकालीन सार्वजनिक यातायात सेवामा भक्तपुरका स्थानीय तहलाई पनि जोडिन प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई रात्रीकालीन सार्वजनिक यातायात सेवामा साझेदारी गर्न प्रस्ताव गरेकी हुन् । उनले काठमाडौं र ललितपुरका स्थानीय तहको सहकार्यमा सञ्चालन भइरहेको रात्रीकालीन बस सेवालाई भक्तपुरसम्म विस्तार गर्न स्थानीय तहबीच संयुक्त स्वामित्व र लागत साझेदारी आवश्यक रहेको बताइन् ।

डंगोलका अनुसार गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा साझा यातायातमार्फत रात्रीकालीन सार्वजनिक यातायात सेवा सञ्चालन हुँदै आएको छ । प्रारम्भिक चरणमा केही आर्थिक घाटा देखिए पनि श्रमिक तथा मध्यम वर्गका नागरिकका लागि रात्रीकालीन सार्वजनिक यातायात अत्यावश्यक देखिएकाले सेवा विस्तार गर्नुपर्ने उनले बताइन् ।

राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधन क्रमशः कम हुँदै जाँदा काठमाडौंमा काम गर्ने तर घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरिलगायतका क्षेत्रमा भएका श्रमिकले घर फर्किन समस्या भोगिरहेको डंगोलको भनाइ छ । राइड सेयरिङको विकल्प रहे पनि तुलनात्मक रूपमा महँगो भएकाले श्रमिक वर्गका लागि सुलभ सार्वजनिक यातायातको पहुँच सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।

‘हाम्रो सहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । अर्को महत्वपूर्ण कुरा भनेको एउटा पालिकालाई अर्को पालिकासँग जोड्ने अन्तरपालिका यातायात पनि हो,’ डंगोलले भनिन्, ‘राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू बिस्तारै कम हुँदै जान्छन् । धेरै श्रमिक वर्गका मानिसहरू काठमाडौंमा काम गर्नुहुन्छ, तर उहाँहरूको घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि लगायतका ठाउँमा हुनसक्छ । काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ ।’

रात्रीकालीन सार्वजनिक यातायातलाई दीर्घकालीन र दिगो बनाउन सेवा सञ्चालन हुने सबै स्थानीय तहले लागत साझेदारी गर्नुपर्नेमा उनले जोड दिइन् । कुनै एक स्थानीय तहले मात्रै आर्थिक भार व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्दै सम्बन्धित रुटमा पर्ने पालिकाले संयुक्त रूपमा खर्च व्यहोर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘सेवा सञ्चालन हुने रुटसँग प्रत्यक्ष रूपमा जोडिएका पालिकाहरूले लागत साझेदारी गर्ने हो भने कुनै एउटा पालिकामाथि ठूलो आर्थिक भार पर्दैन,’ उनले भनिन्, ‘एउटा पालिकाले मात्र “म गर्छु” भनेर यो सेवा सञ्चालन गर्न सक्ला, तर हामीले त्यसरी अघि बढ्नु हुँदैन । यसमा संयुक्त स्वामित्व हुनुपर्छ । जब संयुक्त स्वामित्व हुन्छ, तब यो यातायात सेवा हामी सबैको सेवा बन्छ ।’

डंगोलले अहिले रात्रीकालीन बस सेवाको रुट विस्तारको काम भइरहेको बताउँदै भक्तपुरका स्थानीय तहलाई समेत साझेदारीमा जोडिन विशेष आग्रह गरिन् । उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तह जोडिने रुटमा काठमाडौं, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, मध्यपुर थिमी, सूर्यविनायकलगायत स्थानीय तहले लागत साझेदारी गर्न सक्नेछन् ।

काठमाडौं महानगरपालिकाको प्रस्तावप्रति भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले सकारात्मक प्रतिक्रिया दिएका छन् । दुवै स्थानीय तहले रात्रीकालीन सार्वजनिक यातायात विस्तारका लागि साझेदारी गर्न आफूहरू इच्छुक रहेको जनाएका छन् ।

यसैबीच, असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रीकालीन बसमार्फत ६ वटा नयाँ रुटमा सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई रात्रीकालीन सार्वजनिक यातायातमार्फत जोड्ने गरी नयाँ रुट विस्तार गर्न लागिएको हो ।

नयाँ व्यवस्थाअनुसार गोदावरीदेखि बूढानीलकण्ठसम्म ६ वटा बस सञ्चालन हुनेछन् । भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा बस चल्नेछन् । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरिको नागढुङ्गासम्म ४ वटा, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडकस्थित नेपाल वायुसेवा निगमसम्म ४ वटा तथा चक्रपथमा दुईतर्फी सञ्चालन हुने गरी ८ वटा बस चलाइनेछ ।

चक्रपथमा समेत रात्रीकालीन यातायात सेवा सञ्चालन भएपछि यात्रुले एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सक्ने महानगरपालिकाको अपेक्षा छ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने बताइएको छ ।

महानगरपालिकाले रात्रीकालीन सार्वजनिक यातायातलाई केवल एउटा स्थानीय तहको सेवा नभई उपत्यकाका स्थानीय तहको साझा सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । स्थानीय तहबीच समझदारी, संयुक्त स्वामित्व र लागत साझेदारी कायम गर्न सके रात्रीकालीन यातायात सेवा दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने महानगरपालिकाको भनाइ छ ।