काठमाडौँ – प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाउन माग गर्दै कडा अभिव्यक्ति दिएका छन् ।
सांसद साम्पाङले सभामुखलाई सम्बोधन गर्दै नियमावलीको विभिन्न व्यवस्था उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफ दिन लगाउनुपर्ने वा आफूलाई सदनबाट निष्कासन गर्नुपर्ने दुई विकल्पमध्ये एक रोज्न आग्रह गरेका हुन् ।
उनले नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा बोलाउन नसकिने हो भने ३१ (१) प्रयोग गरी आफूलाई बैठकबाट निष्कासन गर्न निर्देशन दिन सभामुखसँग आग्रह गरे ।
“या त प्रधानमन्त्रीलाई यहाँ बोलाउनुपर्यो, होइन भने मलाई ‘निस्केर जा’ भन्नुपर्यो,” भन्दै उनले संसद्को गरिमा कायम राख्नुपर्ने आवश्यकता औँल्याए ।
सांसद साम्पाङले आफू रिसाउने वा कराउने पक्षमा नरहेको उल्लेख गर्दै सभामुखको बाध्यता बुझ्ने तर सदनको गरिमा यसरी कायम हुन नसक्ने बताएका थिए ।
उनको अभिव्यक्तिपछि संसद् हलमा केही क्षण हल्का हाँसो र चर्चा समेत भएको थियो ।



