फूलैफूलले ढपक्कै पोखरा : तिहारसँगै बढ्यो फूलको कारोबार

गण्डकी – तिहारको रौनकसँगै पोखरा यतिबेला फूलैफूलले ढपक्कै ढाकिएको छ। पोखरा रङ्गशालाको प्रदर्शनीकक्षमा रङ्गीबिरङ्गी फूलले वातावरण नै मनमोहक बनेको छ। फूल हेर्न पुगेका सर्वसाधारण कोही आफूलाई मनपर्ने फूल छानिरहेका छन्, कोही तस्बिर खिचिरहेका छन् भने कोही फूलसँगै ‘सेल्फी’ लिएर तिहारको सम्झना सँगालिरहेका छन्।

तारादेवीको चर्चित गीत ‘फूलैफूलको मौसम तिमीलाई…’ को झझल्को दिने गरी रङ्गशाला परिसर अहिले फूलमय बनेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’मा फूल अवलोकन गर्नेमात्र होइन, किनमेल गर्नेको भीडसमेत बढेको छ।

बुधबारदेखि सुरु भएको प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एउटै थलोमा जोडेको छ। प्रदर्शनीमा गोदावरी, सयपत्रीलगायत विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीका लागि राखिएका छन्। तिहारमा फूलको माग उच्च हुने भएकाले किसान तथा व्यवसायीलाई बजार उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको हो।

पोखराका फूल उत्पादक काशीराम गुरुङका अनुसार प्रदर्शनी सुरु भएको दुई दिनमै अपेक्षाभन्दा राम्रो कारोबार भएको छ। दिनभरजसो प्रदर्शनीस्थलमा मानिसको आवतजावत भइरहेको र फूल किन्न आउने अधिकांश ग्राहक रित्तै नफर्किएको उनले बताए ।

“यहाँ आउने कोही पनि रित्तो फर्केर जाँदैन, दिनैभर मानिस आउने–जाने भइरहेको छ,” गुरुङले भने, “फूल उत्पादक किसान र व्यापारी हामी सबै खुसी छौँ।”

तिहारका लागि आवश्यक सयपत्री र गोदावरी फूलको बिक्री सबैभन्दा बढी भइरहेको उनकाे भनाइ छ।

पोखरा महानगरपालिका–१० अमरसिँहचोककी शान्ता थापालाई भने प्रदर्शनीले आफूले रोजेको फूल छनोट गरेर किन्ने अवसर दिएको छ। फूलको सौखिन रहेकी थापाले प्रदर्शनीबाट विभिन्न प्रकारका फूलमा ७ हजार ५०० रुपैयाँ खर्च गर्नुभएको छ।

“प्रदर्शनीमा आउँदा फूल छनोट गर्न पाइन्छ, यहाँको वातावरणले पनि किनूँकिनूँ लाग्ने बनाउँछ,” उनले भने, “म फूलमा सौखिन पनि छु, प्रदर्शनीमा आएर रु सात हजार ५०० बराबरका विभिन्न फूल किनेँ।”

फूलको किनमेलमा धेरै मोलमोलाइ गर्नुपर्ने अवस्था नरहेको बताउँदै उनले प्रदर्शनीले स्थानीय फूल उत्पादक किसान तथा व्यवसायीलाई प्रोत्साहन गरेको बताए।

पोखरा–१२ स्थित गार्डेन नर्सरीकी सञ्चालक रुपा श्रेष्ठले पनि प्रदर्शनीमा सर्वसाधारणको आकर्षण उत्साहजनक रहेको बताए। उनले आफ्नो नर्सरीका ११ प्रकारका गोदावरी फूल बिक्री तथा प्रदर्शनीमा राखेका छन् ।

“रुचि र चासो लिएर धेरैजना प्रदर्शनी अवलोकन गर्न आइरहनुभएको छ, सबै स्टलमा व्यापार भइरहेको छ,” श्रेष्ठले भने, “चहलपहल अझै बढ्दै जान्छ।”

स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले बताए।

एसोसिएसनमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले फूल उत्पादन र बिक्रीवितरण गर्दै आएका छन्। पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादनसँगै स्वच्छ तथा व्यवस्थित बजार आवश्यक रहेको सुवेदीको भनाइ छ।

पोखरा महानगरपालिकाका अनुसार पोखरामा करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ। पोखरामा मात्रै वार्षिक झन्डै तीन करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान छ। तिहारका बेला माग बढ्ने भएकाले स्थानीय उत्पादनले बजारसमेत पाउने गरेको व्यवसायी बताउँछन्।

प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २६ वटा प्रदर्शनीकक्ष राखिएका छन्। गोदावरी फूललाई मुख्य आकर्षण बनाइएको भए पनि सयपत्रीलगायत अन्य विभिन्न प्रजातिका फूल तथा फूलका बिरुवा बिक्रीका लागि राखिएका छन्।

प्रदर्शनीमा फूल अवलोकन गर्न आउने उपभोक्तासँगै फूलखेती गर्न चाहने किसानले पनि प्रत्यक्ष लाभ लिइरहेको आयोजकको भनाइ छ। नर्सरीबाट बिरुवा खरिद गरेर गाउँगाउँमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ।

उन्नत बीउबिजन, अनुदान तथा आधुनिक खेती प्रविधिका कारण पछिल्लो समय पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा पुष्पखेतीप्रति किसानको आकर्षण बढेको व्यवसायी बताउँछन्। स्थानीय तहहरूले समेत फूलखेती गर्ने किसानलाई अनुदान तथा प्रविधिगत सहयोग गर्दै आएका छन्।

पोखरा महानगरपालिकाको प्रवर्द्धन तथा महानगरको आर्थिक विकास महाशाखा, कृषि शाखा, व्यवसाय प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय, जिल्ला कृषि विकास कार्यालय र पोखरा उद्योग वाणिज्य सङ्घको सहयोगमा आयोजित प्रदर्शनी कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले प्रदर्शनीमा ३५ हजारभन्दा बढी दर्शक तथा उपभोक्ता पुग्ने अपेक्षा गरेको छ।

तिहारको फूलको माग पूरा गर्न स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र पुष्प व्यवसायलाई व्यावसायिक तथा दिगो बनाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी अहिले पोखरामा तिहारको आकर्षण मात्रै बनेको छैन, किसानको उत्पादन र उपभोक्ताको चाहनाबीचको प्रत्यक्ष बजारसमेत बनेको छ।