बेरोजगार युवालाई अनलाइन रोजगारीसँग जोड्दै हिमाली गाउँपालिका

बाजुरा – बाजुराको हिमाली गाउँपालिकाले गाउँपालिकाभित्र रहेका बेरोजगार तथा स्वरोजगार बन्न इच्छुक युवालाई अनलाइन माध्यमबाट रोजगारीका अवसर प्राप्त गर्न सक्षम बनाउने उद्देश्यले ‘अनलाइन रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाले आधुनिक प्रविधिको प्रयोगमार्फत घरमै बसेर रोजगारीका अवसर खोज्न तथा स्वरोजगार बन्न चाहने युवालाई आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमका लागि गाउँपालिका क्षेत्रभित्रका इच्छुक तथा योग्य युवाहरूबाट आवेदन आह्वान गरिएको छ।

गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार कार्यक्रममा सहभागी हुन इच्छुक युवाले तोकिएको समयभित्र आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।

ग्रामीण क्षेत्रमा रोजगारीका सीमित अवसरका कारण रोजगारीको खोजीमा युवा बाहिरिनुपर्ने अवस्था रहेकाले सूचना प्रविधिमार्फत नयाँ अवसरसँग जोड्ने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाले जानकारी दिए । अनलाइन माध्यमबाट उपलब्ध हुने रोजगारी तथा स्वरोजगारका सम्भावनाबारे युवालाई जानकारी गराउँदै उनीहरूलाई प्रविधिमैत्री बनाउन कार्यक्रम केन्द्रित हुने उनले बताए।

गाउँपालिकाले बेरोजगार तथा स्वरोजगार बन्न इच्छुक योग्य युवालाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै तोकिएको मितिभित्र आवेदन पेश गर्न आग्रह गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत थापाले भने, गाउँपालिकाको यो पहलले स्थानीय स्तरमै रहेका युवालाई परम्परागत रोजगारीको खोजीबाट बाहिर निकाल्दै प्रविधिमा आधारित रोजगारीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। विशेषगरी गाउँमै बसेर आम्दानीको अवसर खोजिरहेका युवाका लागि अनलाइन रोजगारीको क्षेत्र नयाँ सम्भावनाका रूपमा विकास हुनसक्ने गाउँपालिकाको विश्वास छ।