गाउँमै स्वास्थ्य सेवाको पहुँच

ढोरपाटन, माघ १७ गते । जिल्लाको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नपुग्दा स्वास्थ्य उपचारमा समस्या भोग्दै आएका थिए । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्य उपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी–झाँक्रीकहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् ।

तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार भएको गाउँपालिको दाबी छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ । पालिकाका सात वडामा सात स्वास्थ्यचौकी, चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् ।

ठाउँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि निकै सहज भएको स्थानीय पुतली थापाले बताउनुभयो । उहाँले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ लगाएर ऋण खोजेरै बागलुङ पुग्ने गरेको अनुभव सुनाउनुभयो । गाउँपालिकाले आफूहरूको समस्या बुझेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “ज्वरो आयो भने, हातखुट्टामा चोट लाग्यो भने पनि बागलुङ बजारमै पुग्नुपथ्र्यो, अहिले साना–तिना बिरामी यही गाउँमै उपचार हुन्छ, यहाँ उपचार गराउन पाउँदा खुसी लाग्छ, अब पहिलेको जस्तो बागलुङ बजारै जान नपर्ने भयो, सरकारले हाम्रो समस्या बुझेछ ।”

गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यानसमेत गुमाउने गरेको जनाउँदै अहिले बिरामी हुँदा बित्तिकै स्वस्थ्यचौकी पुगेर जाँच गर्ने र ठूलो उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान स्वास्थ्यकर्मीले सुझाउने हुँदा समयमै उपचार पाउने गरेको उहाँको भनाइ छ । पहिले–पहिले स्थानीयवासी बिरामी हुँदा अस्पताल जानुको सट्टा धामी–झाँक्री खोज्न जाने गरेको स्मरण गर्दै अहिले धेरैजसो बिरामी पर्दा साथ अस्पताल जाने उहाँ बताउनुहुन्छ ।

नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । नागरिक बिरामी परे घण्टाँै लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रूपमा सहज गराउनका लागि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उहाँको भनाइ छ ।

“काठेखोलाका धेरैजसो गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको थिएन, नागरिक सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानुपर्ने अवस्था थियो, यहाँको समस्यालाई मध्यनजर गरी पालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन थालेका छौँ, अब नागरिकलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यचौकीको स्तरवृद्धि गर्ने र आधुनिक उपकरण तथा औषधि व्यवस्थापनमा जोड दिएको उापाध्यक्ष थापाको भनाइ छ । पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले १५ मिनेट आउन सक्ने भएको उहाँले बताउनुभयो । आफूहरू निर्वाचित भएर आएपछि वडा नं ८ मा कादेस स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “हामीहरू नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य संस्थामा आवश्यक उपकरण जडान, औषधि र दक्ष जनशक्ति व्यवस्थापनमा लागिरहेका छौँ, पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्ने बिरामी अब बढीमा आधा घण्टामै उपचार गराउन पुग्नुहुने छ, स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउने अभियानमा हामीहरू छौँ ।”

गाउँपालिका स्थापना हुनु पहिले सातवटा स्वास्थ्यचौकी थिए । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले गाउँपालिकाले केही स्वास्थ्यचौकीबाट एक्सरे सेवासहित ल्याब सेवा पनि सञ्चालनमा ल्याएको बताउनुभयो । अहिले सातवटै स्वास्थ्यचौकीमा ल्याब लेखानी र रेश स्वास्थ्यचौकीमा ल्याबसहित एक्सरे सेवा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार सातवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।