मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी

बाजुरा, असोज ७ गते । दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल ढुवानी गरिएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले शनिबार पहिलो चरणमा मार्तडी डिपोमा दुई सय क्विन्टल जिरा मसिनो चामल ढुवानी गरिएको जानकारी दिनुभयो ।

जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहँुदै चामल सकिएपछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ ।

उहाँले ढुवानी गरिएको चामल आजदेखि प्रतिकिलो रु ९२ मा बिक्री हुने बताउनुभयो । बजारमा मसिना चामलको रु ९५ मा पर्ने जनाइएको छ ।
मार्तडीको गोदाममा चामल सकिएपछि गत भदौ २४ गते एक सूचना जारी गर्दै गोदाममा ताला लगाइएको थियो ।

मार्तडीमा रहेको शाखा कार्यालयमा चामल पुगे पनि अन्य अस्थायी बिक्री केन्द्र र डिपोमा भने चामल अभाव रहेको स्थानीयले बताएका छन् । कोल्टी डिपोमा भने दुई सय क्विन्टल मौज्दात चामल रहेको बताइएको छ ।

मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यकतानुसार थप चामल आउने र अन्य बिक्री केन्द्रमा भने ठेक्का प्रक्रिया पूरा भएपछि मात्र चामल ढुवानी हुने बताइएको छ । ठेक्का प्रक्रियाको अहिलेसम्म कुनै टुङ्गो नभएको पनि प्रमुख ओझाले बताउनुभयो ।

सुदूुरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो भने चालु वर्षका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएकामा हाल दुई सय क्विन्टल आएको छ ।

अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले धमाधम चाडपर्वको मुखमा पछि स्वीकृत गराउने गरी बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र दार्चुलालगायतका जिल्लामा चामल ढुवानी गरिरहेको छ ।