अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु

काठमाडौं, असोज ९ गते । साना सडक व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्न माग गर्दै ८ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु भएको छ । वार्तामा अभियन्ता ईः र मेयर बालेन शाह दुवै सहभागी छैनन् ।

ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी हुनुहुन्छ ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी हुनुहुन्छ ।

सुरुमा ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उहाँहरुले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।

सातौं दिनमा मेयर शाहले प्रदर्शनरत ईः लाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए । तर नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपनि मेयर र अभियन्ताबीच आरोपप्रत्यारोपको स्थिति सिर्जना भएको थियो ।

महानगरले मंगलबार भने वार्ता टोली बनाएर औपचारिक वार्ताको प्रस्ताव गरेको हो ।