आँबुखैरेनीमा व्यावसायिक ‘फूलखेती’

तनहुँ, असोज २७ गते । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती थालिएको छ । यो वर्ष विदेशबाट आयात हुँदै आएकाले सयपत्री फूललाई प्रतिस्थापन गर्न  फूलखेती थालिएको हो ।
आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको हो ।
महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले राससलाई जानकारी दिनुभयो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धन कार्यक्रमलाई अघि बढाएको  हो ।
गत साउन २० गते रोपिएका बिरुवाबाट ढकमक्क फूल फुलेपछि बजारीकरण सुरु भएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उक्त वडाका तीन स्थान गरी २६ हजार बिरुवाले उत्पादन दिन सुरु गरेको छ । फूल उत्पादन हुन थालेसँगै बजारका फूल व्यवसायीले स्थानीय उत्पादन किन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गाउँपालिका मातहत र सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा खादाको सट्टा फूलको माला प्रयोग गर्न समन्वय भइरहेको कृषि शाखाप्रमुखले बताउनुभयो । मालाको गुणस्तर हेरी थोकमा प्रतिमाला रु ४० देखि ६० मा बिक्री गर्ने योजना बनाइएको छ । खुद्रा मूल्य भने निर्धारण गरिएको छैन ।
अन्य ठाउँबाट ल्याइने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । दुईवटा आमा समूहलाई पहिलो वर्षमा रु ९० हजार पूर्ण रुपमा अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ ।
आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ । मित्रता माविको हकमा भने ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एकमुष्ट रु तीन लाख प्रदान गरेर आयआर्जनबाट पठनपाठनमा सहयोग गर्ने लक्ष्य राखेको छ ।
सोही वडास्थित धार्मिक पर्यटकीयस्थल आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलखेतीले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यहाँ सुरु गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिनुभयो । सधैँ चुल्होचौकामा सीमित हुने यस क्षेत्रका महिलाको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले थालेको कार्यले महिला उत्साहित भएका उहाँले बताउनुभयो ।