महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, कात्तिक १२ गते । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिनुभयो ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुग्नुभएको हो । उहाँले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो ।
साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो ।