काठमाडौं, पुस २ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०५ औं वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै उहाँले तीनै तहका सरकारबीच सहकार्यमा जोड दिनुपर्ने बताउनुभयो ।
काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरु भएको भन्दै उहाँले दुबै महानगरपालिकाको विकास सँगसँगै हुनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि संघीय सरकारले केही कानुनी अड्चनहरु फुकाइदिनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा मेयर बालेनले भन्नुभयो, ‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ । कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’
उहाँले त्यसका लागि केही काम दुबै महानगरपालिकाका मेयर र उपमेयरको तहबाट पनि गर्न सकिने तर केही कानुनी व्यवस्था बाझिएकाले त्यसको बाधा अड्चन फुकाइदिनुपर्ने बताउनुभयो, । विशेष गरी फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले त्यसमा सहजीकरण गरिदिनुपर्ने उहाँको भनाइ थियो ।
‘केही केही कुराहरु हामी मेयरहरु, उपमेयरहरु बसेर पनि सल्टाउन सक्छौं । तर कुनै कुनै कुराहरु यस्ता छन्, संघीय कानुनमा स्थानीय कानुनमा बाझिएका छन्,’ मेयर बालेनले भन्नुभयो, ‘फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौं । त्यो कुरा स्थानीय सरकार आफैंले गर्न सक्ने कुरामा बाधा अड्चन परेको छ । त्यो कानुनी बाधा अड्चन फुकाइदिनु हुन सम्माननीय ज्यूलाई (प्रधानमन्त्री प्रचण्डलाई) यहीँबाट आग्रह पनि गरें, अनुरोध पनि गरें ।’ उपत्यकाको फोहोर व्यवस्थापन पाँच वर्ष वा ५० वर्षका लागि मात्र नभई दीर्घकालीन होस् भन्ने चाहना रहेको उहाँले बताउनुभयो ।



